काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मिडफिल्डर केभिन डी ब्रुइनबाट आफुले अझै उम्दा प्रर्दशनको आश गरेको बताएका छन् ।
शनिबार राति ब्राइटनविरुद्ध ब्रुइनले गरेको ‘मास्टर क्लास’ गोलको प्रशंसा गर्दै ग्वार्डिओलाले बेल्जियमका खेलाडीले अझै आफ्नो सर्वोत्कृष्ट लय समात्न नसकेको बताए ।
क्लबका सहकर्मी एर्लिङ हालाण्ड सर्वाधिक गोलकर्ताको दौडमा अघि रहदाँ ब्रुइनले यस सिजन दुई गोलका साथै ९ गोलको अवसर सिर्जना गरेका छन् ।
ब्राइटनका प्रशिक्षक रोबर्टो डी जर्बिकले ब्रुइनको गोलले १५ मिनेट अघिनै खेलको सम्भावना सकाएको बताएका छन् । शनिबारको खेलमा सिटीले ब्राइटनमाथि ३–१ को जित दर्ता गरेको थियो ।
‘केभिन अझ राम्रो हुन सक्छन् ।’ ग्वार्डिओलाले भने, ‘उनी अझै उच्च स्तरमा खेलिरहेका छैनन् ।’
‘उनीले उत्कृष्ट गोल गरे । उनीले आफ्नो उत्कृष्ट खेल प्रर्दशन गर्न सकेका छैनन् । उनलाई पनि यो थाहा छ । मैले उनीसँग कुरा गरेको छु । तर उनलाई भन्न आवश्यक छैन । यो सही हुदैन ।’ उनले भने ।