काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) चार ठुला खेल हुदैछन् । उपाधि होडमा बलियो मानिएका लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, युनाईटेडले शनिबार राति आ आफ्नो खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो खेलमा लिभरपुल नोटिङ्घम फरेस्टको भ्रमणमा निस्कदैछ । यस सिजन प्रिमियर लिगमा खासै बलियो उपस्थिती देखाउन नसकेको लिभरपुललाई अंक तालिकामा सुधार गर्ने मौका भने छ । तालिकाको पुछारको टिमलाई जित्न एनफिल्ड क्लबलाई खासै समस्या नपर्ने आँकलन गरिएको छ ।
फरवार्ड डार्विन नुनेजको फिटनेसलाई लिभरपुलले हेरिबसेको छ भने नाबी केइटा र इब्राहिमा कोनाटे प्रशिक्षणमा फर्कनुले एनफिल्ड क्लब खुसी छ । पछिल्ला ११ खेलमा मात्र ६ अंक जोडेको नवप्रवेशी क्लब फरेस्टलाई पनि तीन अंक उत्तिकै महत्वपुर्ण छ ।
अर्को खेलमा एभर्टनले न्युक्यासल र म्यानचेस्टर सिटीले ब्राइटोनलाई आतिथ्यता दिनेछन् ।
सिटीका डिफेन्डर जोन स्टोन्स पुरा निको भएर मैदान फर्किएका छन् । काइल वाकर र केल्भिन फिलिप्सको सफल सल्यक्रियाले सिटीलाई राहत दिएको छ । तालिकाको आठौं स्थानमा रहेको ब्राइटोनले दोस्रो स्थानको सिटीलाई राम्रो चुनौती दिने अपेक्षा गरिएको छ ।
शनिबारको अन्तिम खेलमा लण्डनमा चेल्सी र म्यानचेस्टर युनाईटेड भिड्नेछन् । रोनाल्डोलाई टिम बाहिर राख्दै लण्डन भ्रमणमा निस्किएको युनाईटेड पछिल्लो फर्ममा निरन्तरता दिने योजनामा छ ।
अघिल्लो खेलमा युनाईटेडले टोटेनहमलाई २–० ले हराएको थियो । एनगोलो कान्टे, फोफाना र रिस जेम्सको अभाव घरेलु टोली चेल्सीलाई महङ्गो पर्न सक्नेछ ।