पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डी महिलातर्फ त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् ।
बुधबार भएको सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले लुम्बिनी प्रदेशलाई २३–६ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
यस्तै अर्को विभागिय टोली पुलिसले सशस्त्र प्रहरी बललाई ३२– २९ पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
फाइनल चरणमा प्रवेश गरेका आर्मी र नेपाल प्रहरीले लिग चरणका खेलमा अपराजित रहँदै समुह विजेता घोषित भए।
प्रतियोगितामा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बलले समान ३ जित र २ पराजय वेहोर्दै समुह उपविजेता बन्दै कास्यमा सिमित हुन पुगे ।
यसअघि आज नै सम्पन्न भएको लिग चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ४९–३० पोइन्टले, दोस्रो खेलमा त्रिभूवन आर्मी क्लवले सशस्त्र प्रहरी वललाई ३२–१९ ले र अन्तिम खेलमा नेपाल प्रहरीले गण्डकी प्रदेशलाई ६९–२३ पोइन्टले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।
प्रतियोगितामा मधेश प्रदेश, प्रदेश नम्वर १, बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश भने मंगलबारनै बाहिरीएका थिए ।
प्रतियोगिता अन्र्तगत भोलि (बिहीबार) बिहान ८ बजे स्वर्ण र रजत पदकका लागि त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरी क्लव आम्नेसाम्ने हुनेछन् । आर्मी यसअघि सातौं र आठौं राष्ट्रिय खेलकुदको स्वर्ण विजेता हो ।