काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले धेरैपछि राष्ट्रको झण्डा छातीमा राखेर खेल्न पाउँदा आफुलाई खुशी लागेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नायक बनेका अन्जनले खेलपछि बोल्दै सो कुरा बताएका हुन् ।
नेपालले मैत्रीपूर्णमा बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको थियो । जसमा अन्जानले ह्याट्रिक पूरा गरेका थिए ।
'यो खेल मात्र थिएन । धेरै पछि राष्ट्रको झण्डा छातीमा लगाएर खेल्न पाए । कहिले पनि सरकारले केही दिएन, गरेन भनेर खेल्दिन भनिन् । जहिले पनि देशका लागि खेले । आज पनि त्यही जोशका साथ खेले,' उनले भने, 'म मेरो गोल सबैलाई समर्पित गर्न चाहन्छु । यहि मार्फत सबैलाई दशैंको शुभकामना दिन चाहन्छु ।'
अन्जन कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरण खेल्दा नेपाली टोलीमा थिएनन् ।
तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको कारण अन्जन टोलीमा थिएनन् ।
'मलाई धेरै गोल भन्दा पनि आफ्नो टिमले जितोस भन्ने हुन्छ । आज तीन गोल गरेपछि चढेर पनि खेल्न सक्थे । तर, सेफ भएर खेले । यस अघि खेल्न नपाउदाको पीडा म शब्दमा बयान गर्न सक्दिन,' उनले थपे ।