इलाम । मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी प्रदेश १ स्तरीय तेस्रो खुदुनाबारी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा रोयल क्लब दमक झापालाई १–० गोल अन्तरले पराजित गर्दै पथरी शनिश्चरे मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३१ औं मिनेटमा दमकका खेलाडीले डि–बक्स एरिया भित्र फल्ड गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै चेम्जोङले गोल गरेकी थिइन् । खेलको वुमन अफ दि म्याच गोलकर्ता चेम्जोङ घोषित भइन् । अर्जुनधारा ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा भएको खेलमा दमकले निर्धारित समयमा बराबरीको लागि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्न सकेन् ।
पेनाल्टीको अवसरलाई कप्तान बिष्णु लिम्बुले गोलपोष्ट भन्दा बाहिर बल प्रहार गरेपछि दमक क्वाटरफाइनलबाटै बाहिरियो । तेश्रो क्वाटरफाइनलमा गाईघाट फुटबल क्लब उदयपुर र ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङबिच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ ।
प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइ स्कोरर र वुमन अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।