काठमाडौं । नेपालविरुद्धको मैत्रीपूर्ण खेल खेल्न नेपाल आउनु अघि बंगलादेशले कम्बोडियालाई पराजित गरेको छ ।
मोरोडोक टेको नेसनल स्टेडियममा बिहीबार भएको फिफा मैत्रीपूर्ण खेलमा बंगलादेशले आयोजक कम्बोडियालाई १-० ले पराजित गरेको छ ।
मुख्य प्रशिक्षक जेभियर काब्रेराले बंगलादेशको जिम्मेवारी सम्हालेयता पहिलो जित निकालेका छन् । २३ औं मिनेटमा माटिन मियाहको असिस्टमा राकिब हुसेनले महत्वपूर्ण गोल गरेपछि काब्रेराले दुई बराबरी र चार हारपछि बंगलादेशको प्रशिक्षकको रुपमा पहिलो जित हात पारे ।
पछिल्ला सात अन्तर्राष्ट्रिय खेलमा जित विहीन रहेको बंगलादेशका लागि यो जित आवश्यक थियो ।
नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ । बंगलादेशको टोली भोलि नेपाल आइपुग्ने तालिका रहेको छ ।