काठमाडौं । अनिल श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको व्यवस्थापक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार श्रेष्ठलाई टिम व्यवस्थापक नियुक्त गरिएको जनाएको छ ।
एन्फाका महासचिव किरण राईले व्यवस्थापक श्रेष्ठलाई नियुक्ति पत्र प्रदान गरेका थिए ।
श्रेष्ठले यस अघि ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबको व्यवस्थापक रहेर काम गरिसकेका छन् ।
मछिन्द्रका उनी उपाध्यक्ष समेत हुन् ।
व्यवस्थापक नियुक्ति भएपछि बोल्दै श्रेष्ठले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न पाउँदा खुसी लागेको बताए ।
'मैले यसअघि पनि टिम म्यानेजरको रुपमा काम गरेको छु तर क्लब लेभलमा थियो। राष्ट्रिय टिमको टिम म्यानेजर अर्कै तहको हुन्छ । मलाई थाहा छ यो चुनौतीपूर्ण छ तर म आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछु,' श्रेष्ठले भने ।
श्रेष्ठले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा टिम व्यवस्थापकको रुपमा काम गर्ने छन् ।
नेपालले असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछ ।
यस अघि नेपालको टिम व्यवस्थापकमा मधुसुदन उपाध्याय रहेका थिए ।
तर, नयाँ कार्यसमिति आएपछि एन्फाले नयाँ व्यवस्थापक चयन गरेको हो ।