काठमाडौं । क्यानले फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग प्रभावित हुने देखिएपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्धारित मिति अघिनै क्रिकेट विधाको खेल सक्ने तयारी गरेको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिता सञ्चालनको जिम्मेवारी सम्बन्धित संघलाईनै दिएपछि क्यानले भदौ २३ देखि ३१ गतेसम्म नवौं अन्तर्गतका खेलहरु पोखरामा सम्पन्न गर्ने तयारी गरेको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिताबाट प्रभावित हुने अर्को फ्रेन्चाइज प्रतियोगिता हो, नेपाल सुपर लिग (एनएसएल) । तर समय घर्किनै लाग्दा समेत एनएसएलको तयारी अघि बढ्न सकेको छैन । फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट कम्पनीबीच सहमती जुट्न नसक्दा एनएसएल हुने÷नहुने टुङ्गो लाग्न नसकेको हो । प्रतियोगिताको आयोजनालाई लिएर अहिलेपनि घरेलु फुटबलमा अन्यौलता कायमै छ ।
निकै विवाद र रस्साकस्सीका बीच एन्फाको पछिल्लो कार्यसमितिले एनएसएलका लागि असोज २३ देखि मंसिर २ गतेसम्मको तालिका उपलब्ध गराएको छ । कार्यसमितिले एनएसएलसँगको अघिल्लो सम्झौता पत्र रद्ध गर्दै नयाँ सम्झौताका लागि एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ सहितको कमिटिलाई जिम्मेवारी दिएको छ । तर एनएसएलको दोस्रो संस्करणको आयोजनाका लागि एन्फा र आयोजकबीच सहमती बन्न सकेको छैन ।
एनएसएलका टिमको प्रश्न
एन्फाले एनएसएल आयोजनाको अनुमती दिने बित्तिकै आयोजकले सहभागी टिमलाई बोलाएर छलफल गरेको थियो । आयोजकले एनएसएल हुने विषय टुङ्गो लागेको बताउँदै प्रतियोगितामा आबद्ध टिमलाई तयारी अघि बढाउन आग्रह गरेको थियो । तर एनएसएलमा सहभागी टिमले एन्फा र एनएसएलबीच सम्झौता नभएसम्म प्रतियोगिताको तयारी अघि नबढाउने अड्डी कसेका थिए । उनीहरुले एन्फासँग भएको सम्झौता पत्र देखाउन एनएसएलको आयोजकसँग माग गरेका थिए । यसअघि समेत तयारीको नाममा आफ्नो लाखौं रुपैयाँ खर्च भएको उल्लेख गर्दै टिम मालिकहरुको बैठकले सम्झौता अनुसार प्रतियोगिताको सुनिश्चितता भएपछि मात्र तयारी सुरु हुने बताएका थिए । सहभागी टिमहरुनै तयारीमा अघि नबढेपछि एनएसएलको आयोजक टिमले एन्फासँग नयाँ सम्झौताका लागि बारम्बार प्रयास गर्दै आएको छ । तर एन्फासँग सहमती जुट्न सकेको छैन ।
कहाँ अड्कियो एनएसएलको हलो ?
प्रतियोगिताको आयोजनामा फुटबल संघ र एनएसएलको आयोजक टिम सहमत भएपनि एन्फाले माग गरेको रोयल्टीमा कुरा अड्किएको छ । एन्फाले एनएसएल आयोजनाका लागि नेपाल स्पोर्टस म्यानेजमेन्टसँग वार्षिक दुई करोड रोयल्टी माग गरेको छ । जसमा प्रत्येक वर्ष २० प्रतिशतले वृद्धि हुनुपर्ने एन्फाको प्रस्ताव छ । एन्फाको युथ प्रोग्रामदेखि फुटबलका विभिन्न कार्यक्रममा लगानी गर्दै आएको चौधरी ग्रुप एन्फाको पछिल्लो मागप्रति सकारात्मक छैन । एनएसएल आयोजकलाई बिझेको अर्को प्रश्न भनेको, प्रतियोगिताको सम्झौताको अवधिलाई लिएर हो । वर्तमान एन्फा नेतृत्व चार वर्षभन्दा बढीको सम्झौता एनएसएलसँग गर्न चाहदैन । आफ्नो कार्यकाल चार वर्षको मात्र रहेको उल्लेख भन्दै एन्फाले सोही समयसम्मको सम्झौता गर्न सकिने बताएको छ । तर फ्रेन्चाईज प्रतियोगिताको दिर्घकालिन सम्झौता नहुँदा फुटबलमा लगानी गर्न सहभागी टिम तयार नहुने एनएसएलको भनाई छ । सोही कारण आठदेखि दश वर्षको सम्झौताको समय एनएसएलले माग गरेको छ ।
अर्को कुरा एन्फाले माग गरेको दुई करोड रुपैयाँ धेरैनै भएको एनएसएलको बुझाई छ । प्रतियोगिताको आयोजना प्रारम्भिक चरणमै रहेका कारण सहभागी टिमले पहिलो सिजनमै ठुलो रकम घाटा बोकेका छन् । फ्रेन्चाईज प्रतियोगिताको ठुलो पैसा टिकट र प्रत्यक्ष प्रशारण अधिकारबाट आउने हो । प्रत्यक्ष प्रशारणको राम्रो उत्पादन नभएका कारण आयोजकले यस वर्ष भारतबाट प्राविधिक टिम झिकाएर प्रतियोगिता उत्पादन गर्ने योजना बनाएको छ । तर तत्कालै टिकट र प्रत्यक्ष प्रशारणबाट ठुलो रकम आउने सम्भावना छैन । सो रकम आएको खण्डमा समेत आयोजकले ५० प्रतिशतसम्म रकम सहभागी टिमलाई बाँड्नुपर्ने हुन्छ । त्यसैले प्रत्येक वर्ष दुई करोड रुपैयाँ, त्यो पनि प्रत्येक वर्ष २० प्रतिशतले बढ्ने शर्तमा दिन नसकिने एनएसएलको भनाई छ । त्यसमा चार वर्षको सम्झौताले दिर्घकालिन योजना बनाएर अघि बढ्न समस्या हुने बुझाई छ ।
‘यति पैसा दिने भए देउ, नत्र बन्द गराईदिन्छौ भन्ने आशयको ब्यवहार देखिन्छ ।’ एनएसएल टिमका एक सदस्यले खेलपाटीसँग भने, ‘फुटबलको कुरा छैन । एन्फाको ध्यान पैसामा केन्द्रित देखिन्छ । एनएसएलसँग पैसा उठाएर एन्फा चलाउछु भन्ने सोचाई राख्न भएन ।’
चौधरी ग्रुपले एन्फाको विद्यालयस्तरीय फुटबल प्रतियोगिताको प्रायोजन गर्दै आएको छ । तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पाले विद्यालयस्तरीय फुटबल प्रतियोगितालाई सहयोग गरेको भन्दै चौधरी ग्रुपलाई एनएसएल आयोजनाको अधिकार सुम्पिएका थिए । तर वर्तमान एन्फा नेतृत्वले अरु सहयोग र प्रायोजनलाई यथावत राखेर वार्षिक दुई करोड बुझाउनुपर्ने र हरेक वर्ष २० प्रतिशतले रोयल्टी शुल्क वृद्धि हुने शर्त राखेको छ । त्यसमा लामो समयको सम्झौता अवधि दिन नसकिने एन्फा नेतृत्वको अडान छ । एन्फाले माग गरे अनुसारको पैसा तिर्न नसकिने एनएसएलले बताएको छ ।
छलफलमा एन्फाका पदाधिकारीले एनएसएलको नाम फेर्नुपर्ने पनि माग गरेका छन् । एनएसएल सुपर लिग हुन नसक्ने भन्दै प्रतियोगिताको नाम फेर्नुपर्ने छलफलका क्रममा एन्फाका पदाधिकारीले प्रस्ताव गर्ने गरेका छन् । ‘नेपालका ए डिभिजन क्लबले खेल्ने प्रतियोगिता सहिद स्मारक हुने, एनएसएल कसरी सुपर लिग हुने भन्ने कुरापनि साथीहरुको आएको छ ।’ एन्फाका एक पदाधिकारीले भन्छन्, ‘एउटा सम्झौतामा पुगेर एनएसएललाई प्रतियोगिता गर्न दिन पर्छ । किनकी एन्फासँग पनि खेलाडीलाई ब्यस्त राख्ने कार्यक्रम छैन ।’
‘एनएसएलका साथीहरु सल्लाह गरेर आउँछौं भनेर गएका छन् । एउटा बिन्दुमा सहमती बनाउनुको विकल्प छैन ।’ ती पदाधिकारी भन्छन् ।
फुटबलमा कर्पोरेट क्षेत्रको लगानी भित्र्याउने लक्ष्य सहित नेपालमा फुटबलको फ्रेन्चाईज प्रतियोगिता एनएसएलको सुरुवात भएको थियो । कोभिडले थला परेको नेपाली फुटबललाई एनएसएलले प्राण भर्ने काम गरेको थियो । तर नियमित रुपमा घरेलु फुटबल चलायमान हुन थालेपछि एनएसएल र शीर्ष डिभिजनका क्लबबीच मतभेद देखिन थाल्यो । एनएसएलको दोस्रो संस्करण गत चैतमा सञ्चालन हुनुपर्ने थियो । तर एन्फाबाट आवश्यक समन्वय हुन नसक्दा एनएसएल विवादमा पर्यो । ए डिभिजनका क्लब र एनएसएलबीच दुरी बढ्यो । नजिकिदो एन्फाको चुनावी राजनीतिको दाउपेचमा एनएसएल परेपछि भदौमा गर्ने भन्दै प्रतियोगिता सारिएको थियो । एनएसएल आयोजनामा अनुदार रहदै आएको वर्तमान कार्यसमिति निर्वाचित भएर आएपछि यसको भविष्यमाथिनै संकट उत्पन्न भएको छ ।
एनएसएल बन्द गर्ने प्रतिबद्धता सहित चुनाव जितेर आएको वर्तमान नेतृत्वलाई एनएसएल ‘निल्नु न ओकल्नु’ भएको छ । वर्तमान नेतृत्वले एनएसएल आयोजनाको अनुमती दिएर ए डिभिजनका ठुला क्लब बिच्काउन चाहेको पनि छैन । एनएसएल बन्द गरेर घरेलु फुटबललाई ब्यस्त राख्ने कार्यक्रम दिन सक्ने अवस्था समेत वर्तमान नेतृत्वमा देखिदैन । ‘आए आप, गए झटारो’ शैलीमा फुटबलमा अन्य प्रायोजक रकमलाई यथावत राखेर वार्षिक दुई करोड रुपैयाँ माग गरेर एन्फा नेतृत्वले एनएसएलको आयोजक टिमलाई अफठ्यारोमा पार्न खोजेको देखिन्छ ।