काठमाडौं । स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।
क्याम्प नोउमा बुधबार राति भएको खेलमा बार्सिलोना र सिटीले ३-३ गोलको बराबरी खेलेको हो ।
रोमान्चक खेलको २१ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २९ औं मिनेटमा पीएरे एम्रिक औबमेयाङले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए ।
खेलको ६६ औं मिनेटमा फ्रेन्की डी योङले गोल गर्दा बार्सिलोना २-१ ले अघि रह्यो ।

७० औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीलाई २-२ को बराबरीमा ल्याए ।
खेलको ७९ औं मिनेटमा मेम्फिस डीपेले गोल गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा रियाद महरेजले गोल गर्दै सिटीलाई ३-३ को बराबरीमा ल्याएका थिए ।
जुआन कार्लोस अनजुको सम्मानमा लुजोन फाउन्डेसनको लागि कोष रकम जुटाउन मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।
यस मैत्रीपूर्णलाई 'द ग्रेट गेम फर द ग्रेट कज' अर्थात 'महान खेल, महान कार्यका लागी' नाम दिईएको थियो ।
बार्सिलोनाका पूर्व गोलकिपर र प्रशिक्षक जुआनलाई दुई वर्षअघि निको नहुने स्नायु प्रणालीको रोग एएलएस (एमियोट्रोफिक लेटरल स्क्लेरोसिस) भएको थियो ।