काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले राष्ट्रिय टिम बिगारेकोमा आफुलाई दु:ख लागेको बताएका छन् ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बुधबारबाट सामेल भएका कप्तान किरणले आफुलाई टिम बाहिर राख्दा दु:ख नलागेको तर टिम बिगारेकोमा दु:ख लागेको बताएका हुन् ।
'व्यक्तिगत रुपमा उँहाले मलाई बाहिर राख्दा दु:ख लागेको थिएन । तर, मलाई एउटा दु:ख लागेको हामीले त राष्ट्रको प्रतिनिधि गरेको हो नि,' बुधबार संचारकर्मीसँग कुरा गर्दै उनले भने, 'प्रशिक्षक त आउने जाने गर्छ । उँहा अर्को राष्ट्रबाट आउनु भएको हो । हाम्रो देशको लागि क्षणीक हो । होला उँहाले हाम्रो फुटबल विकास गर्न आउनु भएको हो तर एउटा टिमै बिगारेर त्यसरी गर्नु नहुने हो र मेरो विषयमा त खराब नै थियो ।'
कप्तान किरण गत जुनमा कुवेतमा भएको एएफसी एसियन कप छनोटमा नेपाली टिम बाहिर थिए ।
अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाखमा प्रशिक्षणमा रहेका १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । त्यसपछि माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरणले प्रशिक्षण छाडेका खेलाडीको समर्थनमा बोलेका थिए ।
एसियन कप छनोटका लागि टिम घोषणा गर्दा प्रशिक्षण छाडेका १० खेलाडी र किरण अटाएका थिएनन् ।
तर, आगामी असोजमा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि कप्तान किरणले टोलीमा पुनरागमन गरेका हुन् ।
नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
कप्तान किरणले आफुलाई विनाकारण प्रशिक्षकले टिम बाहिर राखेको समेत बताए ।
'म स्तब्ध थिए । किनभने बाहिर रहनुपर्ने कुनैपनि कारण थिएन । तपाई मिडियाहरुले पनि त्यो कुरा प्रशिक्षकलाई सोधिदिनु पर्थ्यो, किन किरण टिम बाहिर छ भनेर । मैले त्यो चिज नपाउदा दु:ख लागेको थियो,' किरणले भने ।
कप्तान किरणले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताए । उनले तयारीका लागि समय रहेको समेत बताए ।
'राष्ट्रका लागि खेलिसकेपछि जित्नकै लागि खेल्ने हो । नतिजाकै लागि खेल्ने हो । हार्नका लागि खेल्ने भन्ने हुदैन । पक्कैपनि हामी राष्ट्रको नाम उचो बनाउन खेल्छौं,' उनले भने ।