काठमाडौं । म्यानचेस्टर सहर आफ्नो इतिहास र कलाले प्रख्यात छ । अझ बिषेशतः म्यानचेस्टरको मौसमले विश्वभर ख्याति कमाएको छ।
तपाइलाई थाहानै हुदैन म्यानचेस्टरको मौसम कतिबेला बदलिन्छ भनेर । घमाइलो दिन खासै हुदैन । विन्टरमा हिउँले पुरै ढाकिन्छ भने बसन्त ऋतु र गर्मीमा अधिकांश समय झरी परिरहन्छ ।
एकपटक फेरी म्यानचेस्टरको मौसम बद्लिएको छ । यसपटक मौसम मात्र होइन ओल्ड ट्राफोर्ड भित्रको गुञ्जायमान ध्वनी पनि बदलिएको छ । केहि ठुलो बनेको छ, त्यो आवाज । जसले कुनै नयाँ संकेत देखाएको छ । त्यो संकेतमा केहि आशा, केहि विश्वास, केहि राहत, केहि न्यानो देखिन्छ ।
म्यानचेस्टर सहर अनि फुटबल । यस महान सहरले फुटबलको संस्कार सिकाउँछ । ब्रिटिश भूमिमा मात्र होइन, पुरा विश्वभर । विश्व फुटबलका दुई महारथी क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी यो सहरका परिचय हुन् । सहरको दुई भाग यिनै क्लबले बाँडछन् । एउटा रातो, अर्को निलो।
फरक फरक कालखण्डमा दुई छिमेकीले फरक अनुभव संगालेका छन् । सफलता र प्रतिष्ठा रातो म्यानचेस्टरले पहिले पायो । निलो म्यानचेस्टरले अहिले पाइरहेको छ । जे होस रातो र निलो म्यानचेस्टर क्लबले २ सय ५० बर्ष भन्दा माथिको समय आ–आफ्नै सुखःदुखले बिताएका छन् । दुई छिमेकी तर परस्पर बिरोधी । यिनीहरु ठुला प्रतिद्वन्दी हुन् । फुटबलको मैदानमा दुश्मनी ठुलो स्तरको छ । तर जब कुरा सिंगो म्यानचेस्टर सहरको एकतामा आउँछ, त्यस्ता धेरै क्षण छन्, जहाँ दुवै छिमेकी एकसाथ मिलेर लडेका छन् ।
त्यही फरक कालखण्ड मध्यको एउटा समय बर्तमान हो । यो बर्तमान अलि कठोर बनिरहेको छ म्यानचेस्टर युनाइटेडको लागि । म्यानचेस्टर सिटी त आफ्नो स्वर्णिम युगमा छ । उसको महत्वकांक्षा हेर्दा लाग्छ, अबको फुटबल युगनै सिटीको युग हो । पछिल्लो एक दशकमा यस क्लबले जुन ग्राफमा प्रगति गरेको छ, त्यो आफैमा प्रेरणादायक छ । तर युनाइटेडको दुर्दशा सकिरहेकै छैन । सायद पछिल्लो दशकयता फुटबल संसारमा म्यानचेस्टर युनाइटेड समर्थक जति तनाब अरु कुनै प्रशंसकले ब्यहोरेका छैनन् ।
युनाइटेड परिवर्तनबाट गुज्रिरहेको छ । इङ्गिलश फुटबलको सबैभन्दा ठुलो क्लब इतिहासकै खराब मोडमा रहेको बेला यसको 'ग्लोरी' फर्काउने प्रयास लामो समयदेखि जारी छ । तर सफलता हात लागेको छैन । यसबीचमा कति उतारचढाव र घटनाक्रम घटे, त्यसको चर्चा हामीले पहिल्यै गरिसकेका छौं । अब कुरा भविष्यको हुनेछ । नयाँ प्रशिक्षक एरिक टेन ह्यागले देखाउने भविष्य । नव प्रतिभाहरुले देखाउने भविष्य ।

युनाइटेडले यस सिजन घरमा ब्राइटनसँग ४–१ र ब्रेन्टफोर्डमा ४–० लज्जास्पद हारपछि ठुलो आलोचनाको सामना गर्नुपरेको थियो । तर युर्गेन क्लोपको टोली लिभरपुललाई कडा शैलीमा प्रतिक्रिया दियो । मार्च २०१८ देखि आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि पहिलो लिग जित हासिल ग¥यो । यो युनाइटेड प्रशिक्षकको रूपमा एरिक टेन ह्यागको पहिलो जित थियो । एकाएक युनाइटेडको खेलले प्रिमियर लिग त्रसित बनेको छ । केही हद सम्म म्यानचेस्टर सिटी पनि ।
यो आश्चर्यजनक काम युनाइटेडले कसरी गर्यो, यसको उत्तर खोजिदैछ । धेरैलाई बिश्वास थिएन, युनाइटेडले यस्तो खेल प्रदर्शन गर्नेछ । लिभरपुललाई जित्नेछ भनेर । त्यो रात एक अपरिचित र फरक म्यानचेस्टर युनाइटेड देखियो । जोसँग क्लास र तीव्रता दुवै थियो । जाडोन सान्चो र मार्कस रासफोर्डको गोलले ओल्ड ट्राफोर्डमा लिभरपुललाई २–१ ले हरायो ।
'मैले भर्खरै हेरेको कुरा म विश्वास गर्न सक्दिन।’ पूर्व म्यान युनाइटेड डिफेन्डर ग्यारी नेभिलले भने, 'म एकदमै स्तब्ध छु । मैले देखेको कुरा सम्भव छ जस्तो मलाई लागेन ।'
टेन ह्यागको टोलीले एउटा स्टेटमेन्ट दियो । उनीहरुको उद्धेश्य प्रष्ट भएको छ । खेलपछि बिजयी प्रशिक्षकले भने, 'हामी रणनीतिको बारेमा कुरा गर्न सक्छौं तर यो सबै सोच हो । त्यहाँ एकता थियो, लडाइँको भावना थियो र त्यसपछि तपाईले देख्नुभयो कि उनीहरूले के हासिल गर्न सक्छन् ।’
'मलाई फरक दृष्टिकोण र फरक व्यहोरा चाहिएको थियो । त्यो खेलाडीले मैदानमा देखाए । यो केवल एक सुरुवात हो । हामी धेरै संयम र धेरै खतराका साथ खेल्न सक्छौ। एकजुट बन्नुहोस् । हाम्रो भावना त्यो हो, आज हामीले जे देख्यौं ।'
कसरी घाइते युनाइटेडले बलियो लिभरपुललाई पछार्यो ?
ओल्ड ट्राफोर्ड आफ्नो टोलिलाई समर्थन चाहिन्छ भन्ने थाहा पाएर गर्जिएको थियो । युनाइटेडको गति उत्कृष्ट थियो । त्यही तिब्रता, जो ९ दिन अघि ब्रेन्टफोर्डमा सजिलै टुक्रिएको थियो । युनाइटेडको आक्रमणको टेम्पो अधिक थियो । क्रिस्टियन एरिक्सन र एलांगा बीचको केही राम्रो वन–टच लिङ्क–अप पछि सान्चोले बललाई आफ्नो बायाँतिर स्विच गर्दै लिभरपुलको नेटको कुनामा ‘प्लेसमेन्ट’ गरे ।
एन्थनी मार्सियाल हेन्डरसन माथि भारि बने । उनले थ्रो बलमा रासफोर्डलाई अलेक्ज्याण्डर–अर्नोल्डको पछाडि कुदाए । रासफोर्ड एलिसनको नजिकै पोष्ट भित्र बल स्लट गर्नु अघि लिभरपुलको ब्याकलाइनबाट निकै टाढा गइसकेका थिए । उनले स्ट्रेटफोर्ड एन्डको अगाडि सेलिब्रेसन गर्दै गोलको महत्व देखाए ।
'म्यानचेस्टर युनाइटेडको लडाइँ, भावना र ऊर्जा शानदार थियो । म एकदमै अचम्मित छु, मलाई लागेन कि यो सम्भव छ । मैले त्यो पहिलो ४५ मिनेटमा के हेरिरहेको थिएँ भनेर विश्वास गर्न सकिन । मैले म्यानचेस्टर युनाइटेडलाई सक्षम छन् सोचेको थिएन । यो ठूलो परिवर्तन हो ।' ग्यारी भन्छन् ।

यो सबै बिकासमा तारिफको हकदार लिसान्द्रो मार्टिनेज पनि छन् । आयाक्सबाट नयाँ आएका डिफेन्डरलाई उनको सुरुवाती दुई खेलपछि आलोचना गरियो । उनको शारीरिक उचाइको मजाक बनाइयो । तर अन्तिममा उनले सबैलाई चुप लगाए । त्यो दिन उनी एउटा खेलाडी थिएनन्, योद्धा थिए । अनुभवी राफेल भारानको उत्कृष्ट साथ उनलाई रह्यो । भर्खरका मलासियाले लुक श जस्ता अनुभवी खेलाडीको ठाउँमा भयानक खेल देखाए । पत्याउनुस, उनले मोहमद सलाहलाई पकेटमा राखे । डेलोट यति आक्रामक र मेहनती यसअघि देखिदैन थिए ।
यो युनाइटेडमा भोग थियो । पहिलो मिनेटदेखिनै लिभरपुलमाथि चढेर खेले । क्विक बल रिकभरी, एकुरेट पास, र तिब्र गतिमा आक्रमण यस खेलमा युनाइटेडको बिशेषता थियो ।
अब के?
म्यानचेस्टर युनाइटेडको अर्को असाइनमेन्ट शनिबार साउथह्याम्प्टनको यात्रा हो । एरिक टेन ह्यागको टोली त्यसपछि सेप्टेम्बर १ मा लेस्टर सिटीको यात्रा गर्नेछ । तीन दिन पछि आर्सनललाई स्वागत गर्नेछ घरमा ।
युनाइटेड समर्थक पहिले भन्दा व्यग्र प्रतीक्षामा हुनेछन् आउने खेलका लागि । किनकी उनीहरुलाई बिश्वास छ, एरिक टेन ह्यागले उनीहरुको गुमेको 'ग्लोरी’ फिर्ता गराउन सक्छन् । राम्रो खेलाडीमा लगानी भैरहेको छ । लेजेण्ड क्यासेमिरो इंग्ल्यान्ड बसाइसरेका छन् । उनको अनुभवले ठुलो राहत दिनेछ । स्ट्राइकर थप गर्ने तयारी छ । एरिकले आफ्नै विद्यार्थी एन्टोनीलाई आयक्सबाट बोलाउदैछन् ।
महत्वपुर्ण कुरा रोनाल्डो के गर्लान ?
खै ! उनी बस्न चाहेका छैनन्, यो त प्रष्ट छ । तर जाने कहाँ ? च्याम्पियन्स लिग खेल्ने कुनै टोली उनलाई लैजान इच्छुक छैनन् । उनका एजेन्ट मेण्डेस विभिन्न क्लबसँग अझै कुराकानीमा छन् । तर ट्रान्सफर विन्डो सकिनै लागेको छ । यदि कहीं कुरा नमिले उनी नचाहेर युनाइटेड बस्नुपर्ने हुन्छ । तर एरिक टेन ह्यागले आफ्नो योजनामा रोनाल्डो नरहेको संकेत लिभरपुलको खेलबाट देखाइसके । उनी बेन्चमा बस्न पक्कै चाहदैनन् । समस्या छ ।

यी सबै समस्या र नकारात्मक कुरालाई युनाइटेड समर्थक ध्यान दिन चाहन्नन् । किनकी टोलीले सुधार देखाएको छ । के थाहा यो सिजन केहि ट्रफी हात लागिहाल्छ कि ! अब त यो सोच्न पनि छुट छ । उनीहरुलाई ह्यारी मगायर बेञ्चमै बसे पुग्छ । टोलीबाट लिभरपुलबिरुद्दको त्यो जोश उनीहरु निरन्तर चाहन्छन् । ओल्ड ट्राफोर्डमा नारा लगाइराख्न चाहन्छन्, 'ग्लोरी ग्लोरी म्यानचेस्टर युनाइटेड’ !