काठमाडौं । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय टिमबाट बाहिर रहदा पनि आफुलाई खास फरक नपरेको बताएका छन् ।
गत मार्चमा भएको विश्वकप लिग टूमा नेपाल, पपुवा न्यु गिनी तथा यूएई बीचको त्रिदेशीय सिरिज पश्चात पहिलो पटक राष्ट्रिय टिममा परेका मल्लले मंगलबार त्रिवि मैदानमा पत्रकारसंग सो कुरा बताएका हुन् । भदौमा हुने केन्या भ्रमणमा मल्लले राष्ट्रिय टिमबाट पुनरागमन गर्दैछन् ।
’टिम बाहिर रहदा टिमको अभ्यासका क्रममा त्रिविमा बिताएका समयको याद निरन्तर आईरहन्थ्यो,’ मल्लले भने, ’टियु मैदाननै आफ्ना लागि दोस्रो घर रहेकाले घर बाहिर रहदा कसलाई घरको याद आउन्न होला र ?’
टिमको केन्या भ्रमणबाट हरेक खेलमा जितनै अपेक्षा रहेको उनको भनाई छ । टिम बाहिर रहे पनि नेपाली क्रिकेटको हरेक खेल आफुले नजिकबाट हेरिरहेको उनले बताए ।
सिरिजका लागि नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्दैछ । यस सिरिजका लागि नेपाली टोली अगस्ट २३ मा केन्या पुग्ने तालिका छ ।
क्यानले घरेलु टोली केन्यासँगको सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । नेपालले सुरुआतमा टी–ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो टी–ट्वान्टी अगस्ट २५ मा हुनेछ । यस्तै अन्तिम टी–ट्वान्टी अगस्ट ३० मा हुनेछ ।
पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ ।
राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।