काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको आधिकारिक फ्रेन्चाईज क्रिकेट नेपाल टी-ट्वान्टी लिगको घोषणा गरिसकेको छ ।
पहिलो संस्करणको प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म संचालन हुनेछ ।
क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागीता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।
क्यानले यस प्रतियोगिताको आयोजनाले नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु हुने बताउदै आएका छन् । पहिलो संस्करणको प्रतियोगिता भव्य बनाउन क्यानले तीव्र तयारी गरिरहेको छ ।
नेपाल टी-ट्वान्टी लिगको घोषणासँगै क्रिकेट खेलाडी, क्रिकेट समर्थक लगायत क्रिकेटसँग सरोकार राख्नेहरु उत्साहित छन् । प्रतियोगिता खेलाडीका लागि एउटा अवसर र खेलाडीलाई आर्थिक रुपमा सहयोग मिल्नेमा उनीहरु आशावादी छन् ।
'नेपाली क्रिकेटको लागि यो सुनौलो पल हो । यसले लिगमा आबद्ध हुने हरेक नेपाली खेलाडीलाई आर्थिक रुपले पनि राम्रो सहयोग पुग्नेछ,' नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सुवास खकुरेलले खेलपाटीसँग भने 'यस्तो प्रकृतिको प्रतियोगिता आधिकारी बोर्डले गर्नु आफैमा राम्रो कुरा हो ।'
तर, प्रतियोगिताले सिमित खेलाडीलाई मात्र अवसर मिल्ने हुँदा तल्लो तहसम्म यस्ता प्रतियोगिता लैजानु पर्ने उनले बताए ।
'यस लिगले सिमित नेपाली खेलाडीलाई मात्र समेट्ने हुँदा क्यानले यस्ता प्रतियोगिता हरेक प्रदेशसम्म पुर्याउनु आवश्यक रहेको छ,' उनले थपे 'सिमित खेलाडीको मात्र विकासले नेपाली क्रिकेटको विकासमा सहयोग नपुग्ला ।'
अष्ट्रेलियामा बस्दै आएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व तिव्र गतिका बलर अमृत भट्टराईले यस लिगसँगै लामो फम्यार्टको खेललाई पनि क्यानले सुरु गरिहाल्नु पर्ने आवश्यकता रहेको बताउछन् ।
'मैले यस लिगको विरोध गरेको होईन तर नेपाली क्रिकेटको वास्तविक विकास चाहाने हो भने मल्टि डे प्रतियोगिताहरुमा क्यानको नजर पुग्न ढिला भईसकेको छ ।' उनले भने 'आईपीएल त सफल भयो यो किन हुन्न भन्ने सुन्छु तर त्यस्तो होईन आईपीएल सुरु हुदाँ भारतमा मल्टि डे क्रिकेटले एउटा स्थान तय गरि सकेको थियो । त्यसैले स्थानिय खेलाडीले पनि अन्तराष्ट्रिय खेलाडीको स्तरको प्रदर्शन गरे । तर, हाम्रोमा भने स्थिति ठिक उल्टो छ ।'
नेपाली खेलाडीको प्रदर्शन नराम्रो आउँदा यो लिग नै संकटमा पर्न सक्ने भट्टराईको अनुमान रहेको छ ।
तर, उमेर समूहको राष्ट्रिय टोलीका पूर्व सदस्य सुनम गौतम भने यसले देशमा नै खेलाडीहरुलाई राम्रो वातावरण सिर्जना हुने बताएछन् ।
'झन्डै महिना दिनको प्रतियोगिता नेपालमा हुनु आफैमा ठुलो कुरा हो । यसबाट खेलाडीको अनुभवमा वृद्धि हुन्छ नै साथ साथै खेलाडीका लागि थोरै भएपनि आर्थिक सहयोग यसले पुर्याउछ,' अष्ट्रेलियामै क्रिकेट खेल्दै आएका गौतमले खेलपाटीसँग भने 'राष्ट्रिय गौरब रहेको यस लिगले क्यानलाई ठुलो आर्थिक सहयोग पुग्नेछ । र, क्यानले त्यो आर्थिक आर्जनलाई मल्टि डे क्रिकेटमा लगाउन सक्नेछ ।'