काठमाडौं । आईसीसी विश्वकप लिग टूको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हाल स्कटल्याण्डमा रहेका छन्।
नेपाल, घरेलु टोली र नामिबियाबीच त्रिदेशीय एकदिवसीय सिरिज चलिरहेको छ ।
यस सिरिजमा नेपालले ३ खेल खेल्दा १ खेल मात्र जितेको छ । नेपालले घरेलु टोलीलाई ५ विकेटले पराजित गरेको थियो । तर, नामिबियाविरुद्ध नेपाल दुबै खेलमा पराजित भएको छ ।
नेपालले नामिबियासँगको पहिलो र दोस्रो खेलमा क्रमशः २ सय २१ र २०० रनको लक्ष्य पाएको थियो । यो लक्ष्य एकदिवसीय खेलका लागि सामान्य लक्ष्य हो । तर, सामान्य लक्ष्यलाई पनि नेपाली टिमले पूरा गर्न नसक्दा पराजित भएको छ ।
नेपालले सामान्य लक्ष्य पूरा गर्न नसक्नुको कारण कमजोर ब्याटिङ देखिन्छ । तर, यसको मुल समस्या नेपालको घरेलु संरचनामा रहेको छ ।
आईसीसीले क्यानमाथी लगाएको प्रतिबन्धसँगै घरेलु क्रिकेट रोकिएको थियो । क्यानको प्रतिबन्धको समयमा केही व्यापारीक समूहले क्रिकेटका प्रतियोगिताहरु आयोजना गरे । तर, त्यसको सम्बन्ध सिधा नाफासँग जोडिएको थियो । जसको कारण छोटा फर्म्याटका क्रिकेट मात्र आयोजना भयो ।
प्रतिबन्धकै समयमा नेपालले आईसीसीबाट पाँच वर्षका लागि एकदिवसीय अन्तराष्ट्रियको मान्यता पाएको थियो । २०१८ मा एकदिवसीय मान्यता पाएसँगै नेपालले लामो फर्म्याटका खेलहरुमा जोड दिनुपर्ने थियो । २०१९ मा क्यान माथिको प्रतिबन्ध फुकुवा भयो । क्यानले नयाँ नेतृत्व पायो । तर, सबैले खोजिरहेको बलियो घरेलु संरचना पाउन सकेन।
नेपालसँगै एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएका मुलुकहरुमा वर्षभर क्रिकेट भईरहन्छ । खेलाडीलाई वैदेशिक प्रशिक्षण पनि गराईन्छ ।
नेपालमा भने ठिक विपरित रहेको छ । आईसीसीका केही खेल भए खेल्यो नत्र घरमा नै बस्यो । खेलाडीलाई खेलमा व्यस्त राख्न क्यान असक्षम देखिएको छ ।
क्यानले आयोजना गरेको उमेर समूह अथवा सिनियर स्तरको घरेलु प्रतियोगिता पनि देखाउन मात्र आयोजना गरिएको जस्तो देखिन्छ । खेलाडी उत्पादनका लागि सबैभन्दा ठुलो लगानी घरेलु संरचनामा हुनुपर्ने हो । तर,नेपालमा त्यो शुन्य रहेको छ ।
त्यसैले अपेक्षा धेरै र लगानी शुन्य रहिरहेमा नतिजा यो भन्दा माथीको अपेक्षा गर्न सकिदैन ।