काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेको नेपालको 'ए' डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले आज आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
एनआरटीले आज थाईल्याण्डको शीर्ष डिभिजनको क्लब चोनबुरी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
एनआरटीले यस अघि बिहीबार तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग खेल खेलेको थियो । उक्त खेलमा एनआरटी ५-२ गोल अन्तरले पराजित भएको थियो ।
प्रि-सिजनको तयारीका लागि थाइल्याण्ड पुगेको एनआरटीले बुधबार थोनबुरी एफसीसँग तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
यसअघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगिताको दुबै खेलमा एनआरटीले हार व्यहोरेको थियो ।