काठमाडौं । दक्षिण अफ्रिकाका महान क्रिकेटर जोन्टी रोड्सले नेपाली क्रिकेट प्रशिक्षकहरुलाई प्रशिक्षण दिएका छन् । नेपाली युवा क्रिकेट खेलाडीहरुलाई प्रशिक्षण दिन नेपाल आएका रोड्सले मंगलबार नेपाली प्रशिक्षकहरुलाई प्रशिक्षण दिएका हुन् ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटासहित ११ नेपाली प्रशिक्षकहरुको उपस्थिति रहेको थियो । प्रशिक्षण दौरान रोड्सले क्रिकेटको प्राविधिक पक्ष र खेलाडीहरुको प्रतिभा कसरी पहिचान गर्ने भन्ने बिषयमा प्रशिक्षण गराएका थिए ।

दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर रोड्स 'राइज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स' कार्यक्रमका लागि नेपाल आएका हुन् । रोड्सलाई नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एड प्रालिले नेपाली युवा क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन नेपाल ल्याएको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुने दश दिने प्रशिक्षणमा रोड्सले यू- १६ र यू- १९ का खेलाडीहरुलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा ४५ खेलाडीहरु सहभागी हुनेछन् ।

४९ बर्षीय रोड्सले दक्षिण अफ्रीकाको लागि ५२ टेष्ट र २४५ एकदिवसीय क्रिकेट खेलेका थिए । विश्व क्रिकेटमा उत्कृष्ट फिल्डरको नाममा रोड्सको नाम आउने गर्छन् ।