राष्ट्रिय फुटबल टोली कुवेत जाँदै

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज शनिबार कुवेत प्रस्थान गर्दैछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली कतारको दोहाबाट कुवेत प्रस्थान गर्ने जनाएको छ ।
दोहामा १० दिनको बन्द प्रशिक्षण सकेर नेपाली टोली कुवेत जान लागेका हुन् ।
नेपालले दोहामा तीन मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो ।
शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २-० गोल अन्तरले पराजित भएको थियो ।
त्यसअघि नेपालले मैत्रीपूर्णमा टिमोर लिस्टेको यू-२३ टोलीसँग २-२ गोलको बराबरी खेलेको थियो । यस्तै श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुने छन् ।












