काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा साविक विजेता फ्रान्स पराजित भएको छ ।
समूह चरण अन्तर्गत शुक्रबार राति फ्रान्सलाई डेनमार्कले २-१ गोल अन्तरले हराएको हो ।
डेनमार्कले सुरुआती अग्रता उल्टाएर फ्रान्समाथि जित निकालेको हो ।
खेलको ५१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
तर, ६८ औं मिनेटमा आन्द्रेस कोर्नेलिउसले गोल गर्दै डेनमार्कलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा आन्द्रेसले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २-१ को जित दिलाए ।
जितसँगै डेनमार्कले नेसन्स लिगमा सुखद सुरुआत गरेको छ ।
लिग ए समूह १ को डेनमार्कले ३ अंक जोडेको छ ।
डेनमार्क समूहको दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा हार व्यहोरेको फ्रान्स तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा अष्ट्रियाले क्रोएसियालाई ३-० ले हराएको छ ।
अष्ट्रिया शीर्ष स्थानमा रहेको छ । क्रोएसिया पुछारमा रहेको छ ।