काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) ले मलेसियाको पेनाङमा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्ने भएको छ ।
एनआरटीले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै ‘प्री सिजन’ खेलका लागि मलेसियाको भ्रमण गर्दै टीवाईटी कप खेल्न लागेको जनाएको छ ।
उक्त प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो ।
यहिँ २८ जुनदेखी २ जुलाईसम्म हुने प्रतियोगितामा एनआरटीसहित मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेश प्रिमियर लिगको क्लब मुक्तिजोधा सङसद केसीले प्रतिस्पर्धा गर्नेछन् ।
२० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।
एनआरटीले उक्त प्रतियोगिताको तयारीका लागि केही दिनमै प्रशिक्षण सुरु गर्ने जनाएको छ । साथै क्लबले खेलाडी अनुबन्ध प्रक्रियासमेत सुरु गरिसकेको जनाएको छ ।
एनआरटीले मलेसिया जानुअघि नेपालमै केही अभ्यास खेल पनि खेल्नेछ ।