काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगको उपाधि जितेको छ ।
सहिद स्मारक 'सी' डिभिजन लिग अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेको हो ।
झापालाई जित दिलाउन विशाल खवासले दुई गोल गरे । यस्तै मनिष लिम्बु र पुजन राईले एक एक गोल गरे ।
स्वयम्भूका पाल्साङ लामा र राजिब मगरले एक एक गोल फर्काए ।
खेलको तेस्रो मिनेटमा विशालले गोल गर्दै झापालाई अग्रता दिलाए । ३९ औं मिनेटमा विशालले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ४८ औं मिनेटमा मनिषले गोल गर्दै झापाको अग्रता तेब्बर बनाए ।
५० औं मिनेटमा राजिबले गोल गर्दै स्वयम्भूलाई ३-१ को स्थितिमा ल्याए ।
खेलको ५४ औं मिनेटमा पुजनले गोल गरेपछि झापा ४-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ६७ औं मिनेटमा स्वयम्भूका पाल्साङले गोल गरेपनि झापा ४-२ ले विजयी भयो ।
लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोड्यो । दोस्रो बनेको प्लानिङ ब्वाइज युनाईटेडले ३१ अंक जोड्यो । प्लानिङ समेत बी डिभिजनमा बढुवा हुने दोस्रो टोली बनेको छ ।
झापा यसअघिनै दोस्रो डिभिजनको लिगमा उक्लिएको थियो । उपाधिसँगै झापाले १० लाख नगद प्राप्त गरेको छ ।
दोस्रो भएको प्लानिङले ७ लाख नगद प्राप्त गर्दा तेस्रो भएको आरसी ३२ ले नगद ४ लाख प्राप्त गरेको छ।
यस्तै, झापा फुटबल क्लबका पारस कार्की लिगका सर्वोत्कृष्ट खेलाडी घोषित भए । झापालाई लिग च्याम्पियन बनाउँदै बी डिभिजनमा पुर्याउन महत्वपुर्ण योगदान गरेका पारस लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले व्यक्तिगत उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, प्रतियोगितामा प्लानिङ ब्वाइजका लोकेश चौधरी उत्कृष्ट गोलकिपर घोषित भए । उनले ३५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा प्लानिङका फागुराम थारु र सानेपाका खेमराज तामाङ सर्वाधिक गोलकर्ता बने । दुवैले समान १४ गोल गरेका थिए । दुवैले ३५ हजार रुपैयाँ बाडेका छन् ।
महाबिरले फेयर प्ले अवार्ड हात पार्यो । महाबिरले ५० हजार पाएको छ ।