काठमाडौं । झापा फुटबल क्लब सहिद स्मारक 'बी' डिभिजन लिगमा बढुवा भएको छ ।
सहिद स्मारक 'सी' डिभिजन लिग अन्तर्गत सोमबार विरगंज युथ एकेडेमीलाई ५-० गोल अन्तरले हराउँदै झापा बढुवा भएको हो ।
झापा एक खेल अगाबै बढुवा भएको हो । झापाले लिगको अन्तिम खेल श्वयम्भु फुटबल क्लबसँग खेल्नेछ ।
एन्फा कप्लेक्स सातदोबाटोमा झापालाई जित दिलाउन पुजन राईले ह्याट्रिकसहित ४ गोल गरे । सन्तोष लावतीले एक गोल थपे ।
खेलको १३ औं मिनेटमा पुजनले गोल गर्दै झापालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६६ औं मिनेटमा पुजनले व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा पुजनले ह्याट्रिक पूरा गर्दै झापालाई ३-० को अग्रता दिलाए ।
इन्जुरी समयमा सन्तोषले गोल गर्दै झापालाई ४-० को अग्रता दिलाए ।
त्यसपछि खेलको अन्तिम समयमा पुजनले व्यक्तिगत चौंथो गोल गर्दै झापालाई ५-० को सानदार जित दिलाए ।
जितसँगै झापाले १२ खेलमा ३१ अंक जोडेको छ । झापा शीर्ष स्थानमा समेत उक्लिएको छ ।
यस हारसँगै विरगंज रेलिगेसनमा परेको छ ।
विरगंज ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
यस अघि ओसिस क्लब रेलिगेसनमा परिसकेको छ ।