काठमाडौं । यदी फुटबल भन्नु नै जित हो भने जोसे मोउरिन्हो यस्तै जित निकाल्ने प्रशिक्षक हुन् । फुटबल व्यवस्थापनका रूपमा उनको करियर कति धेरै उम्दा छ भने त्यसमा अरूले गर्न सक्ने भनेको इर्ष्या मात्रै त हो । हिजो बुधबार राति मात्रै मोउरिन्होले एक अर्को उपाधि जिते, एएस रोमाका लागि । यो थियो, युरोपा कन्फ्रेन्स लिग । उनका लागि यो कति धेरै महत्त्पूर्ण थियो भने उनी जत्तिको जब्बर प्रशिक्षकले आँसु थाम्न सकेनन् । बच्चा जस्तै रोए, यी बुढा पनि ।
फेरि रोमाकै इतिहासमा पनि यो पहिलो युरोपेली उपाधि थियो । त्यसो त युरोपा कन्फ्रेन्स लिग युरोपेली क्लब फुटबलको तेस्रो वरीयतामा पर्ने प्रतियोगिता मात्र हो, च्याम्पियन्स लिग र युरोपा लिगपछि । तर यस्तो भन्दैमा यसको महत्त्व कम भनेर कसरी पो भन्न सकिन्छ ? मोउरिन्होले दुई पल्ट च्याम्पियन्स लिग जितेका छन्, सन् २००४ मा पोर्टो र सन् २०१० मा इन्टर मिलानका लागि । अहिले रोमाका लागि जितेको कन्फ्रेन्स लिग यो भन्दा कम छैन्, फरक परिस्थिति र समयका कारण ।

यत्तिकैमा उनी च्याम्पियन्स लिग, युरोपा लिग र अहिले कन्फ्रेन्स लिग सबै जित्ने पहिलो प्रशिक्षक भएका छन् । नहोस पनि किन र ? कन्फ्रेन्स लिग सुरु भएकै यसै सिजनबाट मात्र हो । रोमाले हात पारेको यो उपाधिपछि मोउरिन्होबारे फुटबल पण्डितहरूले एउटा सटिक विश्लेषण अगाडि सारेका हुन् । त्यस अनुसार, ‘साँच्चै भन्दा फुटबल खेल्ने भनेकै जित्नका लागि हो, मोउरिन्हो यस्तै जित दिलाउन सक्ने प्रशिक्षक हुन् । अचेलको भाषाका भन्दा मोउरिन्हो सिरियल विनर हुन् ।’
यसलाई पुष्टि गर्नका लागि छ्यापछ्याप्ती तथ्यांक पनि छन् । पहिलो तथ्यांक, सन् २००३ मा उनले पोर्टोका लागि युईएफएकप जिते । त्यो भनेको १९ वर्ष भयो । त्यसयता उनले आफ्नो फुटबल प्रशिक्षकको जीवनमा २६ ठूलो उपाधि जितेका छन् । यस अगाडिको सिजनमा रोमाको प्रदर्शन खराब रह्यो र टिम सातौं स्थानमा रह्यो । त्यसैले रोमाले मे महिनाको अन्त्यतिर मोउरिन्होलाई नियुक्त गरेको थियो । रोमालाई लोभ थियो, कतै यी प्रशिक्षकले केही जिताइदिने त होइन् ?
खासमा रोमाले मोउरिन्होलाई भित्र्याएको भविष्यका लागि बलियो टिम बनाउन नै थियो । रोमा अबका केही वर्षभित्र बलियो टिम बनाउन चाहन्थ्यो । यसका लागि रोमाले मोउरिन्हो जत्तिको ठीक प्रशिक्षक देखेन् । मोउरिन्होले आफ्नो पहिलो वर्षमै रोमालाई उपाधि पनि दिलाए । अब रोमालाई के चाहियो र ? त्यसो त रोमाको कन्फ्रेन्स लिगमा रोमाको यात्रा सुमधुर रहेन्, समूह चरणमा खासै नाम नसुनेको बोडोविरुद्ध ६–१ को लज्जाजनक हार पनि बेहोरेको थियो ।

यो हारेपछि मोउरिन्होको आलोचना गर्ने पनि धेरै निस्के । तर उनले त्यसको उत्तर मैदानमा दिन खोजे । नतिजा हाम्रोसामु छ । कन्फ्रेन्स लिग जितेपछि मोउरिन्होले भनेका छन्, ‘म्यानचेस्टर युनाइटेडका लागि युरोपा लिग, पोर्टो र इन्टरका लागि च्याम्पियन्स लिगका उपलब्धी आफैमा ठूला छन् । तर अहिले रोमाका लागि जितेको कन्फ्रेन्स लिगलाई पनि कम मान्दिनं । यो मेरो लागि विशेष रहनेछ । रोमाले हात पारेको यो उपलब्धी इतिहासमा गर्वले सम्झिनेछ ।’
–एजेन्सीहरूको सहयोगमा ।