काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-२० राष्ट्रिय पुरुष टिमका लागि खेलाडी छनोट गर्ने भएको छ ।
एन्फाले साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका जेठ २० देखि २४ गतेसम्म खेलाडी छनोट गर्ने भएको हो ।
एन्फाले सदस्य जिल्ला र क्लबलाई छनोटमा खेलाडी पठाउन पत्र पठाईसकेको छ ।
एन्फाले २०५९ साल पुस १७ पछि जन्म भएका खेलाडीलाई मात्र छनोटमा सहभागी गराईने जनाएको छ ।
एन्फाले बिहीबार मेघराज केसीलाई नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
साफ यू-२० च्याम्पियनसिप भारतमा आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
त्यस्तै एएफसी यू-२० छनोटमा नेपाल समूह 'बी' मा परेको छ । खेलाडी छनोटका लागि एन्फाले जिल्ला र क्लबलाई पत्र पठाईसकेको छ ।
नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश रहेको छ ।
यस समूहको छनोट खेल बहराइनमा हुनेछ । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।
नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ ।
नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ ।
समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
एएफसीले छनोट खेल्ने ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर 'ड्र' निकालेको हो ।
हरेक समूहको विजेताले उज्वेकिस्तानको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत यू-२० एसियन कप खेल्नेछ ।
एएफसी यू-२० एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
