काठमाडौं । मेघराज केसी नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले टेक्निकल कमिटिको सिफारिसमा मेघराजलाई टिम हेर्ने जिम्मेवारी दिईएको बताए ।
'एन्फाको टेक्निकल कमिटिको सिफारिसमा उँहालाई साफ र एएफसी यू-२० एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको हो,' तुलाधरले भने ।
प्रशिक्षक मेघराजले मंगलबारबाट जिम्मेवारी सम्हालेको तुलाधरले जानकारी गराए ।
मेघराज घरेलु फुटबलका हाइ प्रोफाईलका प्रशिक्षक हुन् । उनले गत सिजनको ए डिभिजन लिग सातदोबाटो युथ क्लब सम्हालेका थिए ।
साफ यू-२० च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
त्यस्तै एएफसी यू-२० छनोटमा नेपाल समूह 'बी' मा परेको छ । खेलाडी छनोटका लागि एन्फाले जिल्ला र क्लबलाई पत्र पठाईसकेको छ ।
नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश रहेको छ ।
यस समूहको छनोट खेल बहराइनमा हुनेछ । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।
नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ ।
नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ ।
समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
एएफसीले छनोट खेल्ने ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर 'ड्र' निकालेको हो ।
हरेक समूहको विजेताले उज्वेकिस्तानको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत यू-२० एसियन कप खेल्नेछ ।
एएफसी यू-२० एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।