काठमाडौं । नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
एएफसी एसियन कप छनोट अघि नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।
कतार फुटबल एसोसियनले बुधबार दुई मैत्रीपूर्ण खेल्ने तालिका सार्वजनिक गरेको छ ।
कतार एफएको अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग खेल्ने जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले भने मैत्रीपूर्ण पक्का भईनसकेको बताए ।
'हामीले मैत्रीपूर्णको तयारी गरिरहेका छौँ । तर, दुबै टिमसँग खेल्ने पक्का भईसकेको छैन,' उनले भने ।
यस अघि नेपालले अफगानिस्तानसँग खेल्ने तालिका रहेको थियो । तर, अफगानिस्तान कतार आउन नमानेपछि खेल स्थगित भएको थियो ।

नेपाली टोली आज कतार जाने छन् । नेपाली टोली कतारको तयारीपछि कुवेत जाने छन् ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनोटका लागि नेपालले टोलीको घोषणा गरिसकेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।
नेपाली टोली :
गोलकिपर : दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा
डिफेन्स : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी
फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ