काठमाडौं । दक्षिण कोरियाले पछिल्लो समय बाँकी विश्वका लागि पस्केको सबैभन्दा मीठो उपहार हो, ‘के–पप’ । खुबै मिठासपूर्ण हुने गर्छन्, कोरिया पपले बुनेका गीत । धेरै वर्ष भयो, दक्षिण कोरियाले बाँकी विश्वलाई एक अर्को थोक पनि दिइरहेको छ र यो हो, एकपछि अर्को उम्दा फुटबल खेलाडीहरू । जति बेला ‘के–पप’ र फुटबल एक आपसमा मिल्ने गर्छ, त्यो कस्तो हुन्छ ? यसको उत्तर हो, सन ह्वेङ–मिन । यी खेलाडी हुन्, टोटनहमका अब्बल दर्जाका स्ट्राइकर ।
टोटनहमका लागि इंग्लिस प्रिमियर लिगको यसपल्टको सिजन बबाल रह्यो भन्दा हुन्छ । सिजन सुरु मात्र के भएको टोटनहमको प्रदर्शन खराब रह्यो । लागिरहेको थियो, यो उत्तरी लन्डन क्लबले केही गर्न सक्ने छैन् । तर जति बेला लिग सकियो, सबैले टोटनहमका यात्रालाई सुमधुर नै माने । अन्तिम अंक तालिकामा टोटनहम चौथो स्थानमा रह्यो । त्यो भनेको अर्को सिजन टोटनहमले युरोपेली च्याम्पियन्स लिग खेल्नेछ । अनि त्यो भनेको त लिगमा उसको गज्जब पुर्नआगमन नै रह्यो ।

यो सबै उपलब्धीका एक कारण हुन्, तिनै ह्वेङ–मिन । लिगको अन्तिम खेलमा टोटनहमले नरविचलाई पराजित गर्दा त्यसमा उनले दुई गोल गरे । त्यससँगै यसपल्टको लिगमा उनको गोल संख्या २३ पुग्यो । यत्तिकै गोल लिभरपुलका मोहमद सलाहले पनि गरेका थिए । यस्तोमा दुवैले जिते, गोल्डेन बुट अवार्ड । खेल सकिए लगतै दुवैलाई यो अवार्ड दिइयो । त्यसमध्ये पनि यो अवार्ड पाएपछि सबैभन्दा खुसी देखिए, यिनै ह्वेङ–मिन, उनको त अनुहार नै धपक्क बलेको देखिन्थ्यो ।
अवार्ड आएपछि उनको प्रतिक्रिया थियो, ‘सानो छँदा म यस्तै यस्तै सपना बुन्ने गर्थे, गोल्डेन बुट अवार्ड जितेको । र, आज जितियो पनि । यो मेरो लागि निकै बजनदार ट्रफि हो । भनिरहनु पर्दैन, म कति धेरै खुसी छुं भनेर । यो अवार्ड पाएर म निकै भावनात्मक पनि भएको छुं ।’ टोटनहमले लिगको अन्त्यतिर गरेको उत्कृष्ट प्रदर्शनमा ह्वेङ–मिनको सबैभन्दा ठूलो हात रह्यो । धेरै समयपछि टोटनहमका लागि उनी ह्यारी केनले भन्दा बढी गोल गर्ने खेलाडी बने ।

ह्वेङ–यसको उत्तिकै श्रेय आफ्ना प्रशिक्षक एन्टोनियो कोन्टेलाई पनि दिए । नोभेम्बरमै मात्र कोन्टे टोटनहमका प्रशिक्षक भएका थिए । उनी आउन अगाडि टिममा फुट, आक्रोस, विद्रोह थियो । तर यी सबैलाई यी इटालीका प्रशिक्षकले थामथुम पारे । अनि तिनै उपलब्ध खेलाडीबाट नियमित रूपमा राम्रो नतिजा निकाले । लिगको अन्त्यतिर आर्सनलमाथि प्राप्त जित टोटनहमको चौथो स्थानको यात्रामा निर्णायक सावित भयो, त्यसमै ह्वेङ–मिनले एक गोल पनि गरे ।
उनी मान्छन्, कोन्टे आएपछि टोटनहमको प्रदर्शन नै अलग स्तरको रह्यो । यी त सबै रह्यो, मैदानी प्रदर्शनका कुरा । व्यक्तिगत कुरा गर्दा ह्वेङ–मिन ठ्याक्कै ठ्याक्कै कोरियाली पाराका छन्, चिटिक्क परेको अनुहार, हल्का केही सानो आँखा । कपाल पनि हरदम चिटिक्क मिलाएर राख्नु पर्ने । अचेलका युवा पुस्ताका लागि उनी खुबै ह्यान्डसम छन् । के–पप स्टार जस्तै । उनी कोरियालीका लागि पनि ठूलै स्टार हुन् । सम्भवत: कोरियाली फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा सफल खेलाडी ।

खासमा उनी इंग्लिस प्रिमियर लिगमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो एसियाली हुन् । यसले नै देखाउँछ, यसको महत्त्व कति छ भनेर । के–पपकै दुनियामा पनि उत्तिकै लोकप्रिय छन् । अचेल ह्वेङ–मिन एक्लै एक्लै छन् । नत्र यसअघि उनका दुई प्रेमिका रहेका थिए । संयोगले दुवै के–पप स्टार हुन्, बान मिन–आह र यु सो–योङ । दुवै निकै सुन्दर युवती हुन् । यस्तोमा ‘के–पप’ स्वादका सन ह्वेङ–मिन नभनेर के भन्ने ? अब उनको खेल नै के–पप जस्तो छन्दा पनि के फरक पर्छ र ?