पैसाको थुप्रोमुनि लेखिएको एमबापेको अनुबन्ध

काठमाडौं । यो वास्तवमै अविश्वसनीय परिस्थिति थियो । पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई लागिरहेको थियो, केयलिन एमबापे रियल म्याड्रिड जाने छन् । तर रियल आफैलाई लागिरहेको थियो, एमबापे पीएसजीमै रहने छन् । उनी पीएसजीमै रहने छन्, अथवा रियल जाने छन्, यो दुविधा रहेको पनि दुई वर्ष जति भइसकेको थियो । आखिरमा केही नाटकीय घटनापछि निश्चित भएको छ, यी फ्रान्सेली विश्वकप विजेता खेलाडी पेरिसमै रहने छन्, रियल जाने छैनन् ।
यो तथ्य निश्चित भइसकेपछि एमबापेको पहिलो प्रतिक्रिया थियो, ‘रियललाई धेरै धेरै धन्यवाद । मैले भित्री मनदेखि त्यहाँ जान चाहिन। मलाई के पूरा विश्वास छ भने खेलाडीका रूपमा मेरो विकास पीएसजीमै सम्भव छ । फेरि क्लबको आफ्नै पनि धेरै अगाडि बढ्ने सोच छ ।’ यी २३ वर्षीय स्ट्राइकरले पीएसजीसँग तीन वर्षका लागि खुबै लोभिलो अनुबन्ध गरेका छन् । ठ्याक्कै भन्दा यो कस्तो त ? यसको उत्तर हुन सक्छ, पैसाको थुप्रोमुनि लेखिएको एमबापेको अनुबन्ध ।

एमबापेलाई अनुबन्ध गर्नकै लागि पीएसजीले आफ्नो स्पोर्टिङ डाइरेक्टर लियोनार्डोलाई वर्खास्त समेत गरेको छ । उनको यो अनुबन्ध कति धेरै नाटकीय रह्यो भने टिमका प्रशिक्षक मउरिसो पोचेटिनोलाई पनि समेत पूरा घटनाबारे थाहा थिएन् । जति बेला अनुबन्ध निश्चित भयो, अनि मात्र यी अर्जेन्टिनी प्रशिक्षकलाई भनियो । शनिबार मात्रै एमबापेकै ह्याट्रिकको मदतले पीएसजीले मेट्जलाई हरायो र फेरि एकपल्ट फ्रान्सेली लिग वान जितेको खुसीयाली मनायो ।
केही दिन अगाडि मात्र खबर आइरहेको थियो, रियलले एमबापेलाई अनुबन्ध गर्दा १५ करोड ८० लाख डलर तिर्न तयार भएको छ । तर उनलाई त्यो रकम पनि चित्त बुझ्दो रहेन् । पीएसजीमा आजभोलि कतारी लगानी छ र कतारका फुटबल पदाधिकारीदेखि राजनीतिज्ञले एमबापेलाई पेरिसमै राख्न सबथोक गरेको थियो । भनिएको छ, एमबापेले अब साताको दस लाख डलरको हाराहारीमा तलब बुझ्ने छन् र उनी भएका छन्, विश्वकै सबैभन्दा बढी कमाउने फुटबल खेलाडी ।
एमबापेको यो अनुबन्धलाई लिएर जे जस्तो भएको छ, त्यसमा न त रियललाई चित्त बुझेको छ, न त स्पेनी ला लिगाका पदाधिकारीलाई । उनी जत्तिको खेलाडी स्पेन आएको भए, ला लिगाको चमक नै बेग्लै हुने थियो । ला लिगामा अहिले ठूला नाम चलेका स्टार खेलाडीको अभाव छ र डर छ, कतै यसले आफ्नो लोकप्रियता गुमाउने त होइन् ? वास्तवमै एमबापे रियल नजानु क्लबका लागि मात्र नरहेर ला लिगाकै लागि ठूलो धक्का बनेको छ ।

यस्तोमा ला लिगाका अध्यक्ष ज्याभिएर टेबासले भनिसकेका छन्, यो सबै खालि पैसाको खेल मात्र हो र यसले विश्व फुटबललाई केही पनि राम्रो गर्दैन् । उनको भनाइ छ, पीएसजी लगातार घाटामा छ, तर यही क्लब एमबापेलाई जति पनि तिर्न तयार हुन्छ । ला लिगाले युरोपेली फुटबल महासंघमा यसबारे औचापरिक रूपमै गुनासो गर्ने पनि भनिसकेको छ । झन अहिले त रियलका समर्थकले लगातार एमबापेबारे घृणाका शब्द फैलाइरहेका छन् ।
पीएसजी, फ्रान्सेली लिग वान र समग्र फ्रान्सेली फुटबलकै लागि भने एमबापेको यो अनुबन्ध सुखद समाचार भने हो । अचेल फुटबलको नयाँ नियम हो, जो जसले मन खुलेर पैसा गर्न सक्छ, उसले नै त हो, ठूल ठूला क्लब चलाउने र विश्वकै महँगा खेलाडी किन्ने । नसक्नेले खालि आलोचना गर्ने मात्र हो । रियलले पनि त कुनै समय यस्तै गरेको थियो । एमबापे पेरिसमै रहने भएपछि पीएसजीले अब युरोपेली च्याम्पियन्स लिग जित्ने अभियान गम्भीर भएर अगाडि बढाउन सक्छ, आखिरमा यो क्लबमा लियोनल मेसी र नेयमार पनि त छन् ।
–एजेन्सीहरूको सहयोग ।






-1775932166938.webp&w=3840&q=75)





