काठमाडौं । इटालीको सिरी ए पनि आइतबार टुंगिदैछ । तर उपाधि कसले जित्ने हो त्यो भने टुंगो लागेको छैन् । एउटा तथ्य तय छ, लिग जित्ने यस पल्ट मिलानकै क्लब हुन् । प्रश्न हो, एसी कि इन्टर ? पारम्परिक रूपमा इटालीको घरेलु फुटबलमा दुई सहरको बाहुल्यता छ, एउटा टुरिन, अर्को मिलान । टुरिनको प्रतिनिधित्व युभेन्ट्सले गर्छ भने मिलानसँग ठूला दुई टिम छन्, तिनै एसी र इन्टर । दुवैको घरेलु मैदान पनि एउटै छ, प्रसिद्ध सानसिरो ।
आ–आफ्नो अन्तिम खेलका लागि अहिले तत्काल शीर्ष स्थानमा रहेको एसी मिलान ससुलोको भ्रमणमा निस्कनेछ भने दोस्रो स्थानमा रहेको इन्टर मिलानले साम्पडोरियाको आथित्य गर्नेछ । अप्रिलको अन्त्यतिर इन्टर मिलान बोलोग्नाको हातबाट पराजित भएको थियो । त्यही नतिजापछि एसी मिलानले लिग तालिकाको शीर्ष स्थान स्पष्ट दुई अंकको अग्रता लिएको थियो । अहिले भने एसी मिलानको ८३ अंक छ, इन्टर मिलानको ८१, त्यही दुई अंकको दूरी ।
त्यसको अर्थ अन्तिम दिन सबै प्रकारको सम्भावना कायम छ । यहाँनिर इन्टर मिलानलाई एक तथ्यमा ठूलै फाइदा छ । इन्टर आफ्नै सानसिरोमा खेल्दैछ । तर यो तथ्य त्यति बेला कामै नलाग्ने हुनेछ, जति बेला एसी मिलानले आफ्नो खेल जित्ने छ । सिधा सिधा भन्दा उसलाई जिते ठ्याक्कै पुग्यो । ससुलो ११ औं स्थानमा छ र आफ्नो अन्तिम खेललाई लिएर यो टिम उदासिन रहन सक्छ, किनभने यसको नतिजाले उसलाई केही फरक पार्दैन् ।
फरक पार्ने स्वंय लिगकै लागि हो । यस सिजन मिलानको खेलको एउटा ठूलो विशेषता हो, घर बाहिर राम्रो रहनु । यस पल्ट पूरा सिजन मिलानले खालि फियोरेन्टिनाको घरमा भएको खेल मात्र गुमाएको छ । रमाइलो त के छ भने मिलानलाई बराबरी भए पनि पुग्यो । यस्तो किन भन्दा हेड टु हेडमा एसी मिलान इन्टर मिलान भन्दा अगाडि छ । सिरी ए को नियम नै यस्तो छ । त्यो नभएको भए, गोल अन्तरमा इन्टर मिलान अगाडि थियो र उसलाई फाइदा हुन सक्थ्यो।
हो, एसी मिलानले बेहोर्नु नहुने नतिजा भनेको हार मात्रै हो, नहारे पुग्यो । एसी मिलान पराजित भएमा मात्र इन्टर मिलानका लागि लिग उपाधि जित्ने अवसर खुल्नेछ । साम्पडोरिया अहिले १५ औं स्थानमा छ र उसलाई पनि यो खेलको नतिजामा उदासिनता हुन सक्छ । रेलिगेसनबाट बच्ने निश्चित भइसकेको साम्पडोरियालाई यो खेलको नतिजाले केही पनि फरक पार्ने छैन् । यहाँनिर एउटा प्रश्न निकै रोमाञ्चक छ, एसी मिलानले अन्तिम पटक कहिले लिग जितेको थियो त?
इतिहासमा फर्कदा रमाइलो हुन्छ, किनभने यसले के कस्ता संयोग थिए, त्यो देखाउने काम गर्छ । यसका लागि सन् २०१०–२०११ को सिजन फर्किनु पर्नेछ, जति बेला टिमका प्रशिक्षक थिए, मासिमिलिनो एलेग्री । संयोगलले यी प्रशिक्षक अहिले युभेन्ट्समा छन् । त्यो सिजन पनि इन्टर मिलान दोस्रो स्थानमै रह्यो, दुई टिमबीचको अन्तर भने छ अंकका थियो । त्यसको ठीक एक सिजन अगाडि जोसे मोउरिन्होको नेतृत्वमा इन्टर मिलानले घरेलु लिग र कपसँगै च्याम्पियन्स लिग जितेको थियो ।
–एजेन्सीहरूको सहयोगमा ।