एजेन्सी । पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीको बार्सिलोना जाने योजना कठिन देखिएको छ । स्पेनिस क्लब बार्सिलोनाले बायर्न म्युनिखका फरवार्डलाई अनुबन्ध गर्न इच्छा देखाईरहेका बेला लेवान्डोस्कीको बार्सिलोना यात्रा कठिन देखिएको हो ।
ला लिगा अध्यक्ष जाभियर टेबसले समेत लेवान्डोस्की बार्सिलोना जाने सम्भावना निकै कम रहेको बताएका छन् । टेबसले क्याटलान क्लबको वित्तिय अवस्थाका कारण लेवान्डोस्कीलाई हस्ताक्षर गर्ने योजना विफल हुन सक्ने बताएका हुन् ।
बार्सिलोनाका प्रशिक्षक जाभी ३३ वर्षिया फरवार्डलाई बार्सिलोनामा अनुबन्ध गर्न चाहन्छन् । जसको बायर्नसँगको सम्झौता अर्को समरसँगै सकिदैछ । लेवान्डोस्कीले बायर्नसँग आफु क्लबसँग सम्झौता थप गर्ने पक्षमा नरहेको स्पष्ट बताईसकेका छन् । उनले ला लिगा क्लब बार्सिलोनामा जाने इच्छा देखाएका छन् ।
‘लेवान्डोस्कीको बायर्नसँग एक वर्षको सम्झौता बाँकी छ । उनी कति कमाई गर्न चाहन्छन् र बायर्न कति पैसा चाहन्छ भन्ने मुख्य कुरा हो । म बार्सिलोनाको त्यो अवस्था देख्दिन ।’ टेबसले भनेका छन् ।
टेबसले बार्सिलोनाले मिडफिल्डर फ्रेन्कि डि जोङलाई बेचेको खण्डमा लेवान्डोस्की बार्सिलोना आउन सहयोग पुग्ने बताए । डच मिडफिल्डर यतिबेला म्यानचेस्टर युनाईटेडसँग जोडिएका छन् । उनलाई युनाईटेडले अनुबन्ध गर्न इच्छा देखाएको छ ।
बार्सिलोनाका प्रशिक्षक जाभीले समेत लेवान्डोस्कीलाई हासिल गर्न सजिलो नभएको प्रतिकृया दिएका छन् । ‘लेवान्डोस्की एक विकल्प हुन् । यो राम्रो विकल्प हो । छलफल भईरहेको छ । उनको क्लबसँग एक वर्षको सम्झौता बाँकीनै छ । तर यो सजिलो छैन ।’ उनले भनका छन् ।
‘जाभीले क्लब वित्तिय रुपमा लेवान्डोस्कीलाई राख्न सक्षम रहेको समेत बताएका छन् । क्लबका अध्यक्षले टिमलाई पुनर्निमाण गर्न सक्षम रहेको बताएका छन् । उनी यसमा विश्वासी देखिन्छन् ।’ उनले भनेका छन् ।