एजेन्सी । म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेन लगातार दोस्रो वर्ष प्रिमियर लिगको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।
प्रिमियर लिगले शनिबार उनलाई २०२१-२२ सिजनको उत्कृष्ट युवा खेलाडी घोषणा गरेको हो।
फोडेनले लिभरपुलका ट्रेन्ट अलेक्ज्याण्डर अर्नोल्ड, वेष्ट ह्यामका डेक्लान राइस र आर्सनलका बुकायो साका लगायत अन्य सात जनालाई पछि पार्दै लगातार दोश्रो पटक यो उपलब्धि हासिल गरेका छन्।
फोडेनले सार्वजनिक र प्रिमियर लिग प्यानल माध्यमबाट सबैभन्दा धेरै संयुक्त भोट पाएका थिए।
“लगातार दोस्रो सिजन यो अवार्ड जित्न पाउँदा म धेरै गर्व गरिरहेको छु। प्रिमियर लिगमा धेरै प्रतिभाशाली युवा खेलाडी छन् र यसलाई फेरि जित्न पाउनु वास्तविक सम्मान हो ।” फोडेनले भने।
२१ वर्षिय खेलाडीले यो सिजन पेप ग्वार्डिओलाको टिमका लागि २७ लिग खेलमा ९ गोल गरेका छन् । उनले पाँच गोलको अवसर सिर्जना गरेका छन् ।
सिटी आइतबार राति एस्टन भिल्लालाई पराजित गर्दै पाँच वर्षमा चौथो पटक लिग उपाधिमा जित्ने लक्ष्यमा छ।