काठमाडौं । म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिग उपाधि जित्ने सूत्र निकै सजिलो छ, अन्तिम दिनको खेलमा एस्टन भिल्लालाई हराउने । यस्तो गर्न सके, पछिल्लो पाँच वर्षमा सिटीले चौथो पल्ट लिग जित्नेछ । पेप ग्वार्डिओला र उनका खेलाडीलाई थाहा छ, लिग उपाधि जित्ने दाउ आफ्नै हातमा छ । आइतबार इतिहाडमा हुने खेलमा सिटीले भिल्लाको सामना गर्नेछ र आफ्नै घरेलु दर्शकमाझ लिग जितेको खुसीयाली पनि मनाउन सक्नेछ ।
यो परिस्थितिको एउटा अर्को समीकरण पनि छ । अन्तिम दिन एनफिल्डमा लिभरपुलले उल्भ्सको आथित्य गर्दैछ र त्यसमा लिभरपुल जित्छ र सिटी आफू अनुकल नतिजा निकाल्न असफल रहन्छ भने लिग उपाधि हुनेछ, मर्सिसाइड क्लबको । यो सबै परिस्थितिमा एउटा पात्र खुबै महत्त्वपूर्ण बनेर आउँछ र ती हुन्, स्टेफन जेरार्ड । उनी अचेल भिल्लाका व्यवस्थापक हुन् । लिभरपुलका लागि खेल्दा उनले कहिले पनि लिग जित्न सकेन् ।

तर यिनै जेरार्डले लिभरपुललाई त्यही लिग उपाधि दिलाउन सक्छन् । यसको सूत्र पनि सामान्य छ, भिल्लाले सिटीलाई हराउने । इतिहासमा त्यस्ता धेरै मोड आए, जसमा लिभरपुल समर्थकलाई लाग्थ्यो, लिग जित्ने हो भने त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण पात्र जेरार्ड नै हुन् । अहिले पनि ठ्याक्कै त्यस्तै स्थिति छ, खालि भूमिका फेरिएको छ । जेरार्डको अहिले तत्कालको लक्ष्य भनेको लिभरपुललाई सहयोग गर्नु पक्कै हुने छैन्, हुन पनि हुन्न ।
उनी त अर्को सिजनका लागि भिल्लालाई तयार पार्ने बाटोमा छन् । यसको एउटा पाटो आइतबार सिटीलाई हराउनु पनि हुन सक्नेछ । तर आखिरमा जेरार्ड पनि मान्छे न हुन्, हामी सबै जस्तै सामान्य मान्छे । उनको उनमा पनि हुँदो होस, लिभरपुलले लिग उपाधि जितोस र त्यसका लागि आफ्नो टिमले सिटीलाई हराउन सकोस । यस्तो हुने हो भने उनका लागि सर्वाधिक प्रिय क्लबले एकै सिजन चार ठूला उपाधि जित्ने बाटो अझै कायम रहनेछ ।
फुटबल पण्डितहरू के पनि मान्छन् भने भिल्लाले सिटीविरुद्ध केही पनि गर्न सक्ने छैन् । सिटीले त्यो दिन सजिलो जित निकाल्नेछ । आखिरमा भिल्ला अंक तालिकाको १४ औं स्थानमा छ । कुनै समय त्यस्तो पनि थियो, जति बेला भिल्लामाथि रेलिगेसनको डर थियो । जेरार्ड आएपछि त हो, यो तनाव समाप्त भएको । जेरार्ड लिभरपुलमा छँदा लिगलाई छाडेर धेरैथोक जिते, जस्तो युरोपेली च्याम्पियन्स लिग, यूईएफएकप, एफएकप, लिगकप ।

जेरार्डले लिग उपाधिको धेरै नजिक पुगेर पनि लिभरपुललाई जिताउन नसकेको उदाहरण पनि छन्, विशेषत: सन् २०१४ मा । त्यति बेला चेल्सीविरुद्धको निर्णायक सावित हुन सक्ने खेलमा जेरार्ड मैदानमै नराम्रोसँग चिप्लेका थिए र यो चिप्लाई कति महँगो सावित भयो भने लिभरपुलको हात रहेको लिग उपाधि अन्यत्र मोडियो । जेरार्डका लागि यो निकै दु:खको अवसर थियो । उन त्यसलाई चाहेर पनि भुल्न सक्दैनन् । तर अब त्यसलाई भुलाउने अवसर छ, जेरार्डको हातमा ।
प्रश्न त्यही हो, के जेरार्डले लिभरपुललाई लिग उपाधि दिलाउने छन् ?
–बीबीसीका लागि फिल म्याकनटीले लेखेको लेखको स्वतन्त्र अनुवाद ।