एजेन्सी । पाहुना टोली वेष्ट इण्डिजविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतले जित निकालेको छ । आइतबार राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई ५ विकेटले पराजित गरेको हो ।
कोलकातामा वेष्ट इण्डिजले दिएको ११० रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि दिनेश कार्तिकले अविजित ३१ तथा हार्दिक पान्डयाले २१ रन जोडे ।
यस्तै मनिस पाण्डेले १९ रन जोड्दा लोकेस राहुलले १६ रन जोडे । वेष्ट इण्डिजका ओशाने थोमस र कार्लोस ब्रैथवेथले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १०९ रन बनाएको थियो ।
फाबियन एलेनले २७ तथा केमो पाउलले १५ रन जोडे । यस्तै साई होप र केइरोन पोलार्डले समान १४/१४ रन बनाए ।
भारतका कुलदीप यादबले ३ विकेट लिए ।
यो जितसंगै भारतले ३ खेलको सिरिजमा १ - ० ले अग्रता बनाएको छ ।