काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थानले दिल्ली क्यापिटल्सलाई हराएको छ ।
शुक्रबार राति राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो ।
२ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेट गुमाएर २ सय ७ रन मात्र बनाउन सक्यो ।
कप्तान ऋषभ पन्तले बनाएको ४४ रन टोलीको सर्वाधिक स्कोर रह्यो । ओपनर पृथ्वी शाले ३७ र डेविड वार्नरले २८ रन बनाउँदै दिल्लीलाई राम्रो सुरुवात दिलाएका थिए । ऋषभ ४४ रनमा आउट हुँदा ललित यादवले ३७ र रोमन पोविलले ३६ रन जोडे । अन्यको प्रर्दशन उल्लेख्य रहेन ।
राजस्थानका प्रसिद्ध कृष्णले सर्वाधिक ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ तथा युजभेन्द्र चाहल र ओबेद मककायले एक एक विकेट लिए ।
सुरुवाती ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा २ विकेटको क्षतीमा २ सय २२ रन बनाएको थियो ।
ओपनर जोस बटलरको १ सय १६ रनको विस्फोटक इनिङ्समा राजस्थानले ठुलो स्कोर खडा गरेको हो । बटलरले ६५ बलमा ९ चौका र ९ छक्काको मदतले सो रन बनाएका थिए ।
देवदत्त पाडिक्कले ५४ रनको अर्धशतकिय पाली खेले । सञ्जु सामसन ४६ मा नटआउट रहे ।
दिल्लीका मुस्ताफिर रहमान र खलिल अहमदले समान एक एक विकेट लिए ।
जित सहित राजस्थान लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले ७ खेलबाट १० अंक जोडेको छ । राजस्थानले ७ मध्य ५ खेलमा जित र २ मा हारको नतिजा निकालेको छ । दिल्ली ६ अंक सहित तालिकाको छैटौं स्थानमा यथावत छ ।