एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा राजस्थान रोयल्स र दिल्ली आज (शुक्रबार) राति भिड्दैछन् ।
खेल मुम्बईको वानखडे स्टेडियममा हुनेछ । राजस्थान ६ मध्य ४ खेलमा जित निकाल्दै तालिकाको तेस्रो स्थानमा छ । दिल्ली टिमले ६ मा ३ खेलमा जित निकाल्दै अंक तालिकाको छैटौ स्थानमा छ ।
दुवै टिमले आफ्नो पछिल्लो खेलमा जित दर्ता गरेका थिए । सोही कारण दुवै टिम राम्रो फर्ममा देखिन्छन् ।
राजस्थानले कोलकत्ताविरुद्ध रोमाञ्चक जित दर्ता गरेको थियो । राजस्थानको टिम अहिलेसम्म पनि ब्याट्सम्यान जोस बटलरमा निर्भर देखिन्छ । कप्तान सन्जु सामसनबाट निरन्तर रन निस्किरहेको छ ।
बलिङमा देखिएका ट्रेन्ट बोल्ट दिल्लीका ओपनरका लागि खतरा हुन सक्छन् । स्पिनरको रुपमा रहेको युजवेन्द्र चहलले लगातार विकेट लिईरहेका छन् । रविचन्द्रन आश्विनले उनलाई राम्रो साथ दिएका छन् ।
दिल्लीले पछिल्लो खेलमा पञ्चाबलाई हराएको थियो । कोभिडबाट प्रताडित बनेको दिल्लीले आफ्नो खेलमा ध्यान दिएको देखिन्छ । सोही कारण टिमले राम्रो नतिजा निकालेको छ ।
डेभिड वार्नर र पृथ्वी शाहबाट दिल्लीले ठुलो अपेक्षा राखेको छ । वार्नरले लगातार तीन अर्धशतक प्रहार गरेका छन् र केही विस्फोटक पारी खेलेका छन् ।
टिमलाई ऋषभ पन्तबाट ठुलो स्कोरको अपेक्षा छ । बलिङमा राम्रो देखिएका खलील अहमत र कुलदीप यादवले लगातार विकेट लिईरहेका छन् ।
राजस्थान ६ खेलबाट ८ अंक सहित तेस्रो र दिल्ली ६ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।