काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल आज (शुक्रबार)बाट सुरु भएको छ ।
प्राविधिक कारण देखाउँदै एन्फाले १० दिन पर सारेको सी डिभिजन आज सुरु हुन लागेको हो । प्रतियोगिता चैत २८ गतेदेखि सञ्चालन गर्ने एन्फाको तयारी थियो । तर एन्फाको आसन्न निर्वाचनका कारण लिग प्रभावित बन्यो ।
सी डिभिजनमा समेत १४ क्लबले खेल्नेछन् । पहिलो दिन शुक्रबार स्पोर्टस एकेडेमी सागा र महावीर क्लब, आरसी ३२ र खालीबारी तथा पुल्चोक स्पोर्टस क्लब र प्लानिङ ब्वाईजले पहिलो खेल खेल्नेछन् ।
लिगका शीर्ष दुई टिम बी डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा झर्नेछन् ।
स्पोर्टस एकेडेमी सागा सहित आरसी ३२, पुल्चोक, मनोहरा, ओसिस, रानीबन, समाजकल्याण, झापा, स्वयम्बु, सानेपा, वीरगञ्ज, प्लानिङ, खालीबारी र मनोहरा क्लबले यस सिजन सी डिभिजनमा भिडन्त गर्नेछन् ।
एन्फाले यस सिजनको ए र बी डिभिजन लिग सम्पन्न गरिसकेको छ । ए डिभिजनको उपाधि मछिन्द्रले उचाल्दा ब्रिगेड ब्वाईज र च्यासल एबाट बी डिभिजनमा घटुवा भए ।
यस सिजन बी डिभिजनबाट चर्च ब्वाईज र खुमलटारले ए डिभिजनमा फड्को मारेका छन् । सामाजिक युथ र झम्सिखेल सी डिभिजनमा घटुवा भएका छन् ।