धनगढी । नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ ।
विहीवार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिस फाईनल प्रवेश गरेको हो ।
पुलिसले उपाधिका लागि एपीएफसँगको भेट पक्का गरेको हो । पुलिसले वनदेवीमाथि ३–० को अन्तरले हरायो ।
पुलिसलाई फाईनलमा पुराउनका लागि निर्मला विकले दुई र रेखा पौडेलले एक गोल गरिन् ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको चौथो मिनेटमा अग्रता कायम गर्यो ।
खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाईन् । ५६ औं मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५ औं मिनेटमा निर्मलाले व्यक्तिगत गोल गर्दै पुलिसलाई तीन गोलको अग्रता दिलाईन् । त्यसपछि कुनै पनि टीमले गोल गर्न सकेन ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला प्लेयर अफ द म्याच भईन् । उनले नगद ५ हजार सहित ट्रफी पाईन् ।
वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत शनिबार फाईनल खेल हुनेछ । फाईनल खेल शनिबार साँझ साढे ६ बजे दुई विभागीय टोली एफिएफ र पुलिस भिड्नेछन् ।
वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ ।
गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।