काठमाडौं । पाकिस्तानी विकेटकिपर मोहमद रिजवान सन् २०२१ को विस्डेन 'लिडीङ टी-ट्वान्टी क्रिकेटर इन द ओर्ल्ड' घोषित भएका छन् ।
सन् २०२१ अघि २६ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा मात्र ३ सय १३ रन बनाएका रिजवानले गत वर्ष मात्र १ हजार ३ सय २६ रन बनाएका थिए । उनले ७३ दशमलब ६६ को औषतमा १२ अर्धशतक र १ शतक प्रहर गरेका थिए ।
उनले लाहोरमा दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी सिरिजमा पहिलो शतक प्रहार गरेका थिए ।
रिजवानको लगातार राम्रो प्रदर्शनको कारण पाकिस्तान सुपर लिगमा मुल्तान सुल्तानको कप्तानको जिम्मेवारी दिइएको थियो । आफ्नो करियरको पहिलो कप्तानीमा उनले टिमलाई उपाधि दिलाएका थिए ।
रिजवान सन् २०२१ को टी-ट्वान्टी विश्वकपमा तेस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले ६ खेलमा ७० दशमलब २५ को औषतमा २ सय ८१ रन बनाएका थिए ।
विश्वकपमा ३ अर्धशतक बनाएका रिजवानले भारतविरुद्ध एतिहासिक जित निकाल्न कप्तान बाबर आजमसँग उत्कृष्ट साझेदारी गरेका थिए ।
