काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु भूमिमा जिम्बावे 'ए' सँग हुने सिरिजको कमर्सियल एण्ड ब्राण्डिङ राइट्स लेभिन स्पोर्ट्स प्रालिलाई दिएको छ ।
क्यानले शुक्रबार विज्ञप्ति निकाल्दै लेभिन स्पोर्ट्ससँग सम्झौता गरिएको जनाएको छ । सम्झौता अनुसार नेपाल र जिम्बावे 'ए' बीचको एकदिवसीय र टी-ट्वान्टी सिरिजको कमर्सियल, टिकेटिङ र ब्रोडकाष्टिङ अधिकार लेभिनसँग हुनेछ । क्यानले सम्झौता रकम भने खुलाएको छैन ।
नेपाल र जिम्बावे 'ए' बीचको सिरिज बैशाखमा हुनेछ । नेपालले जिम्बावे 'ए' सँग तीन ५० ओभरको र तीन टी-ट्वान्टी खेल खेल्नेछ ।
सिरिज बैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।
५० ओभरको सिरिज बैशाख १७ देखि २१ सम्म चल्ने छ । यस्तै टी-ट्वान्टी सिरिज बैशाख २३ देखि २६ सम्म चल्ने छ ।
