इलाम । विभागीय टोली त्रिभुवन आर्मी क्लब १२ औं संस्करणको इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
इटहरी रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा रोलिङ क्लब झापालाई २–१ गोल अन्तरले हराउँदै आर्मीले फाइनल यात्रा तय गरेको हो ।
आर्मीको जितमा टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले एक एक गोल गरे । झापाका अजयी मार्टिन्सले सान्त्वना गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा ३ वटै गोल दोश्रो हाफमा सम्भव बन्यो । खेलको ५१ औं मिनेटमा टेकबहादुरले आर्मीलाई सुरुवाती अग्रता दिलाए ।

सन्तोष तामाङको फ्रिकिक प्रहारलाई उनले झापाका गोलरक्षक मनोज प्रधानलाई विट गराउँदै गोल गरे । खेलको अन्तिम मिनेटमा गोलरक्षक अघि बढेको मौकामा सन्तोषले अग्रता दोब्बर बनाए । इन्जुरी समयमा अजयीले आर्मीको डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै झापाको लागि सान्त्वना गोल फर्काए । जितसंगै आर्मीले कम्तीमा ३ लाख ५० हजार सुरक्षित गरेको छ ।
निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले केही राम्रा अवसरहरु सदुपयोग गर्न सकेनन् । खेलको आठौं मिनेटमा झापाका सुनिल खड्काको प्रहार बाहिरियो । १४ औं मिनेटमा आर्मीका सन्तोष तामाङले पाएको अवसरलाई पोष्ट बाहिर प्रहार गरे । लगतै कप्तान भरत खवासको हेडर बाहिरियो । १६ औं मिनेटमा झापाका अजयीको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गर्दै बाहिर पठाए । ४३ औं मिनेटमा अजयीको शक्तिशाली प्रहार बारमा लागेर फर्कियो । ६४ औं मिनेटमा झापाका फोडे फोफोनाको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
६६ औं मिनेटमा कुलदिप कार्कीको फ्रिकिक प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ७० औं मिनेटमा अजयीले वान भर्सेस वानको अवस्थामा पाएको अवसरलाई प्रहार गर्न नसक्दा आर्मीका डिफेन्डर गौतम श्रेष्ठले क्लियर गरिदिए । ७१ औं मिनेटमा आर्मीका गोलरक्षक विकेश कुथुको हातबाट फुत्किएको बललाई डिफेन्डर गौतमले क्लियर गरिदिए । ८८ औं मिनेटमा झापाका सञ्जोग राईले वान भर्सेस वानको अवस्थालाई जाली चुमाउन सकेनन् । उनको प्रहारलाई विकेशले बचाए ।
आजको खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मी फुटबल क्लबका टेक बहादुर बुढाथोकी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
खेलपछि झापाका प्रशिक्षक सुजन गुरुङले विभागीय टिम भएकाले पाएका चान्सहरुलाई सदुपयोग गर्न नसक्दा पराजित भएको बताए । वान भर्सेस वानका अवसर गुमाउनु र केही राम्रा अवसर बारमा लागेर फर्किएको कारण पराजित भएको बताए । विशाल राई र देवेन्द्र तामाङ हतारमा काठमाडौँबाट आएको कारण अपेक्षा अनुसार खेल्न नसकोको उनले बताए ।उनले सुरुमा पाएको अवसरलाई सदुपयोग गर्न नसको बताए । केही खेलाडीहरुमा स्वास्थ्य समस्या देखिएपछि पहिलो हाफमा गोल गर्न कठिनाई भएको उनले बताए । दोश्रो हाफको सुरुमा स्कोर निस्किएपछि डिफेन्सिभ खेलेको बताए । न्यौपानेले दोश्रो हाफमा पुरै डिफेन्सिभ खेलेपछि पाएको अवसरमा दोश्रो गोल निस्किएको बताए ।
उनले काउन्टर एट्याक रणनीति अन्तिममा आएर सफल भएको बताए । उनले अन्तिम मिनेटमा मात्र विपक्षी टिमले गोल गरेकाले जित्न सहज भएको बताए । उनले खेल सकिनुभन्दा ५ मिनेट अघि मात्र विपक्षी टोलीले गोल गरेको भए जित निकाल्न कठिन रहने बताए ।
दोश्रो सेमिफाइनलमा बिहीबार मनाङ मर्स्याङ्दी र सगरमाथा क्लब बिराटचोक प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको फाइनल खेल २६ गते शनिवार हुने छ ।