काठमाडौं । ‘केटाहरुले निकै सजिलो रुपमा लिए ।’ एएफसी कप २०२२ प्रारम्भिक छनोटको पहिलो खेलमै पराजित भएपछि मछिन्द्र फुटबल क्लबका म्यानेजर अनिल श्रेष्ठले खेल हार्नुको कारणबारे प्रतिक्रिया दिए ।
पछिल्लो समय सहिद स्मारक ’ए’ डिभिजन लिगमा मछिन्द्रको नतिजा बदल्न सफल अनिलको व्यवस्थापनमा मछिन्द्र लगातार दुई पटक लिग च्याम्पियन बनेको थियो ।
एएफसी कप २०२२ को समूह चरणमा पुग्ने लक्ष्य राखेको मछिन्द्र मंगलबार श्रीलंकाको ब्लु स्टार स्पोर्टिङ क्लबविरुद्ध पराजित बनेपछि प्रारम्भिक चरणको पहिलो खेलबाटै बाहिरिन पुग्यो ।
दशरथ रंगशालामा २–१ गोल अन्तरले पराजित भएपछि मछिन्द्रको एएफसी कपको डेब्यु सम्झनलायक रहेन । लिगको शीर्ष स्थानमा रहदै मछिन्द्र पहिलो पटक एएफसी कपका लागि छनोट भएको थियो ।
‘हामी खेलमा धेरै ठाउँमा चुक्यौं ।’ टिम म्यानेजर अनिलले खेलको समिक्षा गर्दै भन्छन्, ‘खेल्न त केटाहरुले खेलेकै हो । खेल सुरु भएको ८÷१० मिनेटसम्म उत्कृष्ट खेल्यौं । त्यसपछि खेलाडीले विपक्षीलाई धेरै सहज रुपमा लिए । चार मिनेटको अन्तरमा दुई गोल खाएपछि हामी पछि परिहाल्यौं ।’
खेलको सुरुवाती १० मिनेट मछिन्द्रले पुरै नियन्त्रणमा लिएको थियो । अधिकांश बल ब्लू स्टारकै डिबक्स वरपर देखिन्थ्यो । मछिन्द्र सुरुवाती समयमा पुरै हाबी देखिन्थ्यो । तर चार मिनेटको अन्तरमा दुई गोल खाएपछि मछिन्द्र खेलमा फर्कनै सकेन । उसलाई भाग्यले पनि साथ दिएन ।
‘सुरुको मिनेट पुरै नियन्त्रणमा लिएपछि खेलाडीले विपक्षीलाई धेरै हलुका लिए । पेनाल्टी रोक्ने बेलासम्म हामी खेलमा पुरै हाबी थियौं ।’ अनिलले खेलपाटीसँग भने, ‘हामीले फाउल गर्दा चलाखीपूर्ण तरिकाले उनीहरुले गोल गरिहाल्यो । हाम्रो खेलाडी तयार नहुँदै उनीहरुले मौका बनाएर गोल हाने । अर्को गोल चार मिनेट नहुँदै थप्यो । जति मेहनत गरेर खेले पनि खेलमा फर्किन सकिएन ।’
खेलाडीले विपक्षीलाई हलुका लिनु र पाएको अवसरमा गोल गर्न नसक्नु हारको मुख्य कारण मान्छन्, अनिल । ‘लिगमा भन्दा धेरै मौका ब्लु स्टारसँग पाएको थियौं तर खेलाडीहरुले स्कोर गर्न सकेनन् ।’ अनिल भन्छन्, ‘अर्को कुरा हामीले हानेको ३–४ वटा प्रहार पोस्टमा लागेर पनि फर्कियो ।’
खेलको २५ औं मिनेटमा प्राप्त फ्रि–किकमा मछिन्द्रका खेलाडी तालमेल मिल्न नपाउँदै श्रीलंकाली क्लबका मोहमद अर्सदको पासमा मोहमद इसानले पेनाल्टी क्षेत्रबाट गोल गर्दै टिमलाई अघि बढाएका थिए । त्यसको तीन मिनेट नबित्दै डिफेन्डर रंजित धिमालले ’डी–बक्स’मा क्लियर गर्न नसकेको बलमा ब्लू स्टारका सेनाल सन्देशले सशक्त प्रहार गोलमा परिणत बनेको थियो ।
मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल खेलमा फिनिसिङ गर्न नसक्दा पराजित बन्न पुगेको बताउँछन् । विदेशी खेलाडीबाट सोचेअनुरुप प्रदर्शन नहुँदा समेत नतिजा नआएको प्रवेशको भनाई छ ।
’विदेशी खेलाडीको प्रदर्शन लिगमा पनि खड्किएको थियो, यो खेलमा पनि । पाँच यार्डभित्र नुर्लानले सजिलो बलमा पनि गोल गर्न सकेनन् । यस्तो सहज मौकाहरु गुमाउँदा खेलमा पक्कै पनि पराजय भोग्नु पर्छ ।’ प्रवेशले भने, ’समग्रमा प्रदर्शन राम्रै हो । धेरै अवसर गुमाउनु र केही प्रहार पोलमा ठोक्किदा नतिजा सुम्पिनु पर्यो ।’
उनले खेलाडीहरुले आफ्नो निर्देशन नमान्दा खेलमा पछि परेको बताए ।
’मैले केही दिनयता खेलाडीलाई निर्देशन दिएको थिए, ब्लू स्टारका ९ र १० नम्बर खेलाडीलाई मार्क गर्नु भनेर । तर त्यही कुरामा हामीले गोल खान पुग्यौं ।’ उनले थपे ।
प्रवेशले बिदेशी फरवार्ड ल्याउन खोजेपनि सम्भव नभएको बताए । उनले नेपाल सुपर लिग (एनएसएल) र ’ए’ डिभिजनका क्लबको विवादका कारण खेलाडी जोड्न नसकेको गुनासो पोखे ।
’हामीले गोल गर्न सक्ने खेलाडी खोजेका थियौं तर एनएसएकको कारण पाइएन । सायद एनएसएल नभएको भए लोनमा भएपनि एउटा खेलाडी ल्याउने थियौं । त्यसमा अलि गाह्रो भयो ।’ उनले थपे, ’एनएसएल र ’ए’ डिभिजन क्लबको विवाद चल्दा कुनै पनि खेलाडी फुकुवा भएनन् । लोनमा खेलाडी ल्याउन पनि फुकुवा गर्नु पर्ने हुन्छ । त्यसो गरे खेलाडी फुत्किन्छ भनेर समस्या भयो ।’
मछिन्द्रले राष्ट्रिय टिमको थाइल्याण्ड भ्रमणका लागि बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीलाई एएफसी कपको तयारीका लागि भन्दै रिलिज गरेको थिएन । लिगपछि उसले मोफसलमा दुई प्रतियोगिता खेल्नु बाहेक अन्य तयारी पनि गरेन । लिगमा उत्कृष्ट नतिजा निकालेको मछिन्द्रले मोफसलमा खासै प्रदर्शन देखाउन सकेको थिएन ।
मोफसललाई आफुले मैत्रीपूर्ण खेलको रुपमा लिएको र खेलाडी घाइते हुन्छन् भन्ने डरमा आरामले खेलेको प्रशिक्षक कटुवाल दाबी गर्छन् ।
’मोफसलको खेलमा खेलाडीले चोट नबोक्ने तरिकाले मैत्रीपूर्ण खेल जसरी खेलाएका थियौं, त्यसले गर्दा यस खेलमा गाह्रो भएको हो । तर प्रदर्शन हामीले राम्रो गरेको हो, गोल हुन सकेन । जित्नका लागि गोल गर्नैपर्छ ।’ कटुवालले भने ।
लगातार दुई पटक सहिद स्मारक ’ए’ डिभिजन लिग विजेता मछिन्द्रको यो पहिलो एएफसी सहभागिता हो । अघिल्लो संस्करणमा समेत लिग च्याम्पियन बनेको मछिन्द्र एएफसी लाइसेन्स नहुँदा एएफसी कप खेल्न पाएको थिएन । उप विजेता बनेको आर्मीले घरेलु मैदानमा श्रीलंकाको पुलिस क्लबलाई ५–१ गोलले पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो ।
’ए’ डिभिजन लिगमा अपराजित रहँदै च्याम्पियन बनेको मछिन्द्र एएफसीको समूह चरण पुग्ने लक्ष्य लिएको थियो । तर उसले आफ्नो छबि अनुसारको प्रदर्शन गर्न सकेन । मछिन्द्रले खेलमा गोल गर्न नसक्दा घरेलु मैदानमा निराश बन्यो ।
ब्लु स्टारविरुद्ध सुरुवाती समयमा केहि आक्रमक ’मुभ’ बनाएको मछिन्द्रले खेलको १३ औं मिनेटमा पेनाल्टी ब्यहोरेको थियो । गोलकिपर बिशाल श्रेष्ठले अरेपाडे ओम्बेबेको पेनाल्टी प्रहार रोक्दै मछिन्द्रलाई शानदार सुरुवात दिलाएका थिए । त्यसअघि खेलको नवौं मिनेटमा मछिन्द्रका विदेशी खेलाडी नुर्लान नोभ्रुजोभले ’सेकेन्ड बार’ च्यापेर प्रहार गरेको बल पोस्टको केहि परबाट बाहिरिएको थियो ।
खेलमा मछिन्द्रले पटक पटक आक्रमण गर्दा खेलमा फर्कन असफल भयो । उसका तीन प्रहार पोस्टमा लागेको थियो । दोस्रो हाफको इन्जुरी समयको केहि सेकेन्ड बाँकी हुँदा कप्तान सुजल श्रेष्ठले एक गोल फर्काएका थिए । त्यसअघि ७७ औं मिनेटमा सुजलले रन्जित धिमालको क्रसमा प्रहार गरेको हेड बल पोस्टको माथिबाट बाहिरिएको थियो ।