काठमाडौं । नेपालको मछिन्द्र फुटबल क्लब एएफसी कप छनोट-२०२२ अन्तर्गत प्ले अफको पहिलो खेलबाटै बाहिरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार भएको खेलमा मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
यस हारसँगै मछिन्द्रको समूह चरणसम्म पुग्ने योजना सकिएको छ ।
ब्लु स्टारलाई जित दिलाउन मोहमद इशान र सेनल सन्देशले एक एक गोल गरे ।
मछिन्द्रका कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए ।
हारपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवालले गोल गर्न नसक्दा पराजित भएको बताए ।
' आज हिले राम्रो प्रदर्शन गरेको हो । गोल मात्र नभएको हो,' खेलपछि उनले भने, 'गोल गर्न सक्ने फरवार्ड लोनमा ल्याउन खोजेको हो । तर एनएसएलले गर्दा ल्याउन सकेनौं । राम्रो विदेशी खेलाडी एनएसएलले छाड्न मानेन ।'
उनले विदेशी खेलाडीबाट धोका भएको बताए ।
'लिगमा विदेशी खेलाडीबाट यस्तै भएको थियो । आज नि त्यही भयो । विदेशी खेलाडी परिवर्तन गर्न खोजेको तर पाएनौं' उनले थपे ।