सगरमाथाको जितसँगै सेमिफाइनल समिकरण पूरा

इटहरी । १२ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
मंगलबार सगरमाथा युथ क्लब विराटचोकको जितसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो ।
इटहरी रंगशाला जारी प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा न्युरोड टिम एनआरटीलाई ३-० गोल अन्तरले हराउँदै सगरमाथाले सेमिफाइनलमा स्थान बनाएको हो ।
सगरमाथालाई जित दिलाउन आभाष लामिछानेले २ गोल गरे । एक गोल प्रदिप लामाले गरे ।
खेलको तेश्रो मिनेटमा नै आभाषको गोलबाट सगरमाथाले अग्रता बनाएको थियो । पहिलो हाफमा १-० को अग्रता बनाएको सगरमाथाले दोश्रो हाफमा थप २ गोल गर्यो । ६० औ मिनेटमा प्रदिप लामाले अग्रता दोब्बर बनाए । ५ मिनेट नवित्दै आभाषले फ्रिकिक प्रहारलाई जाली चुमाउँदा सगरमाथाले खेल ३-० ले जित्न सफल रहयो । दुवै टोली केही राम्रा मुभहरुलाई सदुपयोग गर्न सकेनन् ।

खेलको २३ औं मिनेटमा एनआरटीको स्टेफन समिरको प्रहारलाई सगरमाथाका डिफेन्डर निशान खड्काले क्लियर गरिदिए । एनआरटीका सन्जिव विष्टको प्रहार यान्निकले क्लियर गरे । ३१ औं मिनेटमा हेमन्त थापा मगरको प्रहारलाई एनआरटीका गोलरक्षक पुजन होनाले पञ्च गरेर बचाए । इन्जुरी समयमा प्रदिप लामाले वान भर्सेस वानको अवस्थामा पाएको अवसरलाई खेर फाले । ८४ औं मिनेटमा आभाष लामिछानेको क्रस पासलाई अनमार्क रहेका मिलन राईले पोष्टको दिशा दिन सकेनन् । ९० औं मिनेटमा मिलनको कडा प्रहार बार लागेर फर्कियो ।
खेलको म्यान अफ दी म्याच सगरमाथाका आभाष लामिछाने घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
सगरमाथाका प्रशिक्षक युविन गुरुङ रणनितिमा सफल भएको बताए । बिपक्षी टोली बलियो भएपनि उनीहरुको खेलको बारेमा जानकारी भएकाले रणनीति अनुसार खेल्दा सफल भएको बताए । उनले अपेक्षा गरे भन्दा फराकिलो जित नतिजा निकालेको भन्दै सन्तुष्टी व्यक्त गरे । आफ्ना खेलाडी नभएर ए डिभिजनका खेलाडीहरुले टिम पूरा गर्नुभएको भन्ने प्रश्नमा उनले ११ जना सगरमाथा क्लबका खेलाडीहरु ए डिभिजनमा रहेको बताए । गुरुङले इटहरीमा आएका सगरमाथा क्लबका ७ जना खेलाडी आफ्नो क्लबको उत्पादन भएको दाबी गरे ।
यता एनआरटीका प्रशिक्षक राजकाजी शाक्यले पुर्वका १६÷१७ बर्षपछि खेल्दा नयाँ अनुभव भएको बताए । उनले खेलमैदानमा कारण अपेक्षा अनुरुप खेल्न नसकेको बताए । शाक्यले विपक्षी टोली पाएका अवसरहरुलाई पुर्ण सदुपयोग गरेको बताए । उनले एन्फा र आयोजक प्रति लक्षित गर्दै भने ‘ आयोजक र एन्फालाई के भन्न चाहन्छु भने सगरमाथा क्लब हो की मिक्स क्लब हो यसरी त भएन् नी । जित्नु छ भने जे पनि गर्नु त भएन नी । सवै खेलाडीहरु बाहिरका थिए आफ्ना खेलाडी देखिएनन् । ’ उनले खेलाडीहरुको लागि नयाँ मैदान भएकाले केही थकित जस्तो देखिएको बताए ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी र रोलिङ क्ल्ब झापा भिड्दैछन् । आर्मी आयोजकलाई हराउँदै सेमिफाइनल पुगेको हो । रोलिङले एभेनिर फुटबल क्ल्ब क्यामरुनलाई हराएको हो ।





-1775788668970.webp&w=3840&q=75)









