उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

सिमरा । १२ औं संस्करणको जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज शनिबार नेपाल एपीएफ क्लब र न्युरोड टिम एनआरटी भिड्दैछन्।
सिमरा रंगशालामा एपीएफ र एनआरटी उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् ।
शुक्रबार भएको प्रि-म्याच कन्फरेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका थिए ।
एपीएफ प्रशिक्षक कुमार थापाले एनआरटीविरुद्ध जितका लागि खेल्ने बताए ।
एपीएफका कप्तान नबिन लामाले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको तथा आफूहरु फाइनल खेल्न तयार रहेको बताए ।
सेमिफाइनलमा नेपाल एपीएफ क्लबले बाग्मती युवा क्लबलाई ४-१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
एनआरटीले भने आयोजक नव जन जागृती युवा क्लबलाई ३-२ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
एनआरटी प्रशिक्षक राजु काजी शाक्य एपीएफ क्लब राम्रो टिम रहेको बताएपनि जितका लागि खेल्ने जनाए ।
एनआरटीका रन्जन विष्टले खेलाडीहरुबीच तालमेल मिलेको तथा फाइनल पुगेर सबै उत्साहित भएको बताए ।
नव जन जागृती युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले ५ लाख नगद प्राप्त गर्नेछ।
















