१५ औं बिटी कप फुटबल सुरु

पोखरा । १५ औं संस्करणको बिटी कप तथा पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा नारायण गोपाल एजुकेशन प्रालिले विजयी सुरुआत गरेको छ ।
बुद्धटोल क्बलको आयोजनामा पोखरा–१ बगरस्थित पुरानो टुडिखेलमा शुक्रबारदेखि सुरु भएको उद्घाटन खेलमा आयोजक टिम निलोलाई १-० गोल अन्तरले पराजित गर्दै नारायण गोपाल एजुकेशन दोस्रो चरणमा प्रबेश गरेको हो ।
दोस्रो खेलमा मानारथा चर्च ब्याईजले बाँझापाटन क्लबलाई १-० गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको छ । नयाँगल्ली एफसी र ट्रेजर एफसीबिच भएको अन्तिम खेल गोलरहित भएपछि टाइब्रेकरमा नयाँगल्लीले ट्रेजरलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
प्रतियोगिताको सशत्र प्रहरी बलका डिआईजी शम्भु सुवेदीले उद्घाटन गरे । २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६२ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष विजया गुरुङले बताईन् ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैयासहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।
उपविजेताले ९१ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिने छ । त्यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५÷५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
















