पुलिसलाई हराउँदै मनाङ च्याम्पियन

इलाम । मनाङ मर्स्याङ्दी क्लबले दोस्रो संस्करणको दमक गोल्डकप फुटबलको उपाधि जितेको छ ।
प्रस्तावित मदन भण्डारी रंगशालामा साविक विजेता नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।
मनाङलाई उपाधि दिलाउन आफिज ओलावाले र शिशिर लेखिले एक एक गोल गरे ।
खेलको ५९ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७ औं मिनेटमा लेखिले गोल गर्दै मनाङको जित निश्चित गरे ।
फाइनल खेलको म्यान अफ दि म्याच विजयी टोलीका मौसा भए । उनले नगद दश हजार रुपैयाँ हात पारे ।

यससँगै मनाङले पहिलो संस्करणमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो संस्करण मनाङलाई हराएर पुलिसले उपाधि जितेको थियो ।
मनाङको यो मोफसलको दोस्रो उपाधि हो । यस अघि मनाङले खप्तड गोल्डकप जितेको थियो ।
उपाधिसँगै मनाङले १३ लाख ११ हजार प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ६ लाख ११ हजार पाएको छ ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डर नेपाल पुलिस क्लबका अञ्जान राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट फरवार्ड पुलिसका नीरकुमार राई, सर्वाधिक गोलकर्ता मनाङका अफिज ओलावाले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ घोषित भए । उनीहरुले जनही नगद २१ हजार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन उपरकोटी भए । उनले टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गरे । प्रतियोगितामा उदयीमान खेलाडी आयोजक दमक–११ का राहुल लिम्बु भए । उनले माउन्टेन बाइक पाए ।
आयोजक दमक नगर खेलकुद विकास समितिले चन्द्रकुमार गिरीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । उनी आयोजक दमक–११ प्रशिक्षक पनि हुन् । उनले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।
















