पेमाद्वारा खेलाडी सम्मानका लागि अक्षयकोषको स्थापना

काठमाडौं । पूर्व फुटबल खेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरुको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छिन् ।
पूर्व खेलाडी तथा हाल एन्फा सदस्य, एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिव समेत रेहेकी पेम्बाले आफुले विभिन्न प्रतियोगिताका दौरान प्राप्त भत्ता तथा अन्य रकममा थप गरि ३ लाख बराबरको अक्षय कोष स्थापना गरेकी हुन् ।
उनले यस रकमबाट वार्षिक रुपमा ब्याज बापत प्राप्त रकम हरेक वर्ष महिला दिवश (मार्च ८)का दिन एक जना पुराना वा नयाँ महिला खेलाडीहरुलाई पुरस्कृत गर्ने जनाएकी छिन् ।
यसका लागि उनले एक छनौट समिति निर्माण गर्ने र उक्त समितिको सिफारिसमा पुरस्कृत गर्ने समेत जनाएकी छिन् ।
यसरी सम्मान गर्नुको मुख्य उद्धेश्य पुराना महिला खेलाडीहरुले फुटबल विकासमा पु¥याएको योगदानको कदर र नयाँ खेलाडीहरुलाई फुटबल खेल प्रति हौसला प्रदान गर्दै प्रोत्साहित गर्नु रहेको बताईन् । उनले आउँदा दिनमा यस अक्षय कोषमा रकम थप गर्दै जाने समेत जानकारी गराईन् ।
दुई दशक देखि फुटबलमा सक्रिय उनी सहायक रेफ्री र रेफ्रि ईन्स्ट्रक्टर समेत रहिसकेकी छिन् ।
















