उपाधिमा एपीएफ र एनआरटीको दाबी

सिमरा । १२ औं संस्करणको जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल एपीएफ क्लब र न्युरोड टिम एनआरटी भिड्दैछन् ।
सिमरा रंगशालामा हुने फाइनल अघिको पत्रकार सम्मेलनमा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।
एपीएफ प्रशिक्षक कुमार थापाले एनआरटीविरुद्ध जितका लागि खेल्ने बताए ।
‘फाइनल पुगेका छौ, हामी जितका लागि खेल्नेछौ,’ प्रशिक्षक कुमार थापाले भने ।
एपीएफका कप्तान नबिन लामाले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको तथा आफूहरु फाइनल खेल्न तयार रहेको बताए ।
‘नकआउट प्रतियोगितामा सबै खेल फाइनल नै हो, कुनै पनि खेलमा पराजित भए बाहिरिन्छौ । हामी मुख्य फाइनलमा आएका छौ र फाइनल खेल्न तयार छौ,’ नबिन लामाले थपे ।
नबिन लामाले फाइनल खेलका लागि कुनै पनि दबाब नरहेको समेत बताए ।

सेमिफाइनलमा नेपाल एपीएफ क्लबले बाग्मती युवा क्लबलाई ४-१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
एनआरटीले भने आयोजक नव जन जागृती युवा क्लबलाई ३-२ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
एनआरटी प्रशिक्षक राजु काजी शाक्य एपीएफ क्लब राम्रो टिम रहेको बताएपनि जितका लागि खेल्ने जनाए ।
‘एपीएफ क्लब राम्रो टिम हो, उसले ए डिभिजन लिगमा पनि राम्रो गरेको छ । तर पनि हामी जितका लागि खेल्छौ,’ राजु काजी शाक्यले भने । उनले राम्रो फुटबल प्रदर्शन गर्ने अपेक्षा रहेको उल्लेख गरे । एनआरटीका रन्जन विष्टले खेलाडीहरुबीच तालमेल मिलेको तथा फाइनल पुगेर सबै उत्साहित भएको बताए ।
‘फाइनलमा पुगेर सबै उत्साहित छन् । नेपाल एपीएफ क्लब राम्रो टिम भएपनि हामी उपाधिका लागि लड्नेछौ । राम्रो खेलको अपेक्षा रहेको छ,’ नयाँ जेनेरेसनका लागि पहिलो फाइनल भएकाले उपाधि जित्ने लक्ष्य हुने उनले उल्लेख गरे ।
नव जन जागृती युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले ५ लाख नगद प्राप्त गर्नेछ ।
















