एपीएफ जितपुरसिमरा गोल्डकपको फाइनलमा

नवराज चौलागाई
निजगढ । जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि विभागीय टोलि एपीएफ र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने भएको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युवा क्लब सर्लाहीलाई ४-१ गोल अन्तरले पराजित गर्दै एपीएफले एनआरटीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
एपीएफलाई खेलको १२ औं मिनेटमा सबिन गुरुङले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
एपीएफले १६ औं मिनेटमा अर्मान्ड बेडमको गोलबाट अग्रता दोब्बर बनायो ।
खेलको ३७ औं मिनेटमा अनिल राना मगरले गोल गर्दै बागमतीलाई खेलमा फर्काउने प्रयास गरे ।
एपीएफले पहिलो हाफको ईन्ज्युरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । बागमतीका गोलकिपर प्रिसोले एपीएफका बिके तामाङलाई लडाएपछि प्राप्त गरेको पेनाल्टीमा आभाष लामिछाने सफल हुन सकेनन् ।
खेलको ७९ औं मिनेटमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफले ३-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८३ औं मिनेटमा प्रदिप लामाले गोल गर्दै गोल गर्दै एपीएफलाई ४-१ को जित दिलाए ।
खेलको म्यान अफ द म्याच एपीएफका प्रदिप लामाले पाँच हजार रुपैंया प्राप्त गरे ।
बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक नवजनजागृति युवा क्लबलाई पराजित गर्दै एनआरटी फाइनलमा पुगिसकेको छ ।
प्रतियोगिताको बिजेताले उपाधि सहित दश लाख र उपविजेताले पाच लाख रुपैंया प्राप्त गर्नेछ ।
विधागत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक,डिफेन्स,मिडफिल्डर,फरवार्ड,सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही बिस हजार रुपैंया प्राप्त गर्नेछन भने प्रतियोगिताको उदयीमान स्थानीय खेलाडीले पन्ध्र हजार रुपैंया प्राप्त गर्ने छन् ।
















