इलाम । करिब ४ वर्ष अघि (२०७५ बैशाख २८) पहिलो संस्करणको दमक गोल्डकपको उपाधिका लागि नेपाल पुलिस र मनाङ मर्स्याङ्दी भिडेका थिए ।
प्रतियोगितामा पुलिसले १–० ले बाजी मार्दै उपाधि जितेको थियो । संयोगवश दोस्रो संस्करणमा समेत त्यहि प्रतिद्वन्दी उपाधिका लागि भिड्दैछन् ।
४ वर्षको अवधिमा फरक छ त खेलाडीहरु र खेल मैदान । पहिलो संस्करणको प्रतियोगिता दमक बहुमुखी क्याम्पसको खेलमैदान आयोजित थियो दोस्रो संस्करण प्रस्तावित मदन भण्डारी रंगशालामा ।
उपाधि दिलाउन निर्णायक गोल गरेका रेजिन सुब्बा र गोलरक्षक किरण चेम्जोङ लगायतका केही खेलाडी अहिले पुलिस टिममा छैनन् । मनाङको टिममा समेत धेरै परिर्वतन छ ।

दुवै टोली केही नयाँ र केही पुराना मिश्रित अनुहारको साथ उपाधिका लागि भिड्दैछन् ।
बिहीबार दमक ३ स्थित खेल मैदानमा भएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रिने बताएका छन् ।
पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले पुलिसको सेट टिम भएको कारण जित निकाल्न सहज हुने बताए । उनले पुलिस टिममा पछिल्लो समय खेलाडीहरु बिचको तालमेल नै सबल पक्ष भएको बताए ।

यता मनाङका प्रशिक्षक राजेन्द्र तामाङले राम्रो खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले अघिलो दमक गोल्ड कपमा उपविजेतामा चित्त बुझाएकाले यसपटक भने उपाधि जित्ने बताए ।
यस सिजनको प्रतियोगितामा मनाङ सफल हुँदै आएको छ । पछिल्लो पटक मनाङले नेपालकै सर्वाधिक राशीको खप्तड गोल्डकपको उपाधि आफ्नो पक्षमा पारिसकेको छ ।
पुलिसको टिम पहिलो उपाधिको खोजीमा हुनेछ । फाइनल प्रवेशका लागि पुलिसले गोर्खा ब्वाइज र मनाङले पाहुना टोली मानेभञ्ज्याङ दार्जीलिङ लाई हराएको थियो ।

शुक्रबारको फाइनल खेल समापनको लागि पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् ।
दोस्रो संस्करणको दमक गोल्डकपको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।