आयोजकलाई हराउँदै एनआरटी फाइनलमा

नवराज चौलागाई
निजगढ । न्युरोड टिम एनआरटी जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक नवजनजागृति युवा क्लब सिमरा बारालाई ३-२ गोल अन्तरले पराजित गर्दै एनआरटी उपाधि नजिक पुगेको हो ।
एनआरटीको जितमा स्टेफन समिरले ३१ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
आयोजक नवजनजागृतिले ६५ औं मिनेटमा आयुष घलानको गोलबाट खेल बराबरीमा ल्यायो ।
खेलको ८५ औं मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए । लगत्तै ८७ औं मिनेटमा स्टेफन समिरले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको ईन्ज्युरी समयमा आयोजक टिमका एलन थापाले गोल गरेपनि नवजनजागृति ३-२ गोल अन्तरले पराजित भयो ।
यस्तै ईन्ज्युरी समयमा नवजनजागृति दश खेलाडीमा सिमित बनेको थियो । नवजनजागृतिका डोना थापालाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।
खेलको म्यान अफ द म्याच एनआरटीका दुई गोल गरेका स्टेफन समिर घोषित भए । म्यान अफ द म्याच घोषित स्टेफनले पांच हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत बिहिबार हुने दोश्रो सेमिफाइनल खेलमा नेपाल एपीएफ क्लब र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ ।














